Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल सुपर लिग–२

काठमाडौँले ललितपुरलाई हरायो, दुबै टोली प्लेअफमा

शनिबार, पुस ७, २०८०

काठमाडौँ– साविक विजेता काठमाडौँ रेजर्स ललितपुर सिटीलाई हराउँदै नेपाल सुपर लिग–२ को प्लेअफमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा आज भएको लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई १–० ले हराउँदै काठमाडौँ तेस्रो स्थानमा रहेर प्लेअफमा प्रवेश गरेको हो । 

पहिलो हाफको थपिएको समयको पहिलो मिनेटमा शोखरुखको प्रहार अनन्तलाई लागेर बाहिरियो । त्यसपछिको कर्नरमा भने काठमाडौँले अग्रता लियो । छोटो कर्नर खेलेर तोजीदिनोभ कोमीवनले खेलेको क्रसमा आन्द्रेस नियाले हेडर मार्फत गोल गर्दै खेलमा काठमाडौँलाई अग्रता दिलाए ।

यस खेलसँगै एनएसएलको लिग चरण पनि समाप्त भएको छ । 

साथै, आजकाे खेलमा हारेको ललितपुर पनि लिगमा चौथो स्थानमा रहेर प्लेअफ पुगेको छ । झापा भने यस नतिजाले पाँचौ स्थानमा रहेर लिगबाट बाहिरिएको छ । ललितपुर, झापा, र बुटवलको समान १०–१० अंक भएपनि ‘हेड टु हेड’मा ललितपुर अघि रहेर प्लेअफ पुगेको हो ।

अब क्वालिफायर खेलमा आगामी सोमबार पोखरा थन्डर्स र धनगढी फुटबल क्लब खेल्नेछन् । पराजित हुने टोलीले भने फाइनल प्रवेशका निम्ती विहीबार एलिमिनेटरको विजेतासँग खेल्नेछ । एलिमिनेटरमा मंगलबार पुनः ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स नै खेल्नेछन् ।

पोखरा थन्डर्स १४ अंकसहित लिगको शीर्षस्थान तथा धनगढी १३ अंक जोड्दै दोस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान बनाउन सफल भयो । तेस्रो स्थानमा काठमाडौं रेजर्स र चौथो स्थानमा ललितपुर सिटी रहेका छन् ।
 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्