नेभिगेशन
खेलकुद
नेपाल सुपर लिग–२

साविक विजेता काठमाडौँलाई हराउँदै ललितपुर क्वालिफायरमा

काठमाडौँ– नेपाल सुपर लिग–२ (एनएसएल)मा साविक विजेता काठमाडौँ रेजर्सलाई हराउँदै ललितपुर सिटी एफसी दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

मंगलबार दशरथ रंगशालामा भएको खेलमा १० खेलाडीमा सिमित काठमाडौँलाई ३–० ले हराउँदै ललितपुर क्वालिफायरमा प्रवेश गरेको हो । ललितपुरका लागि इमोह इजिकिएलले २ र पापा केबेले १ गोल गरेका हुन् ।

खेलको ३६औं मिनेटमा ललितपुरले खेलमा अग्रता लियो । इमोहले सहजै बललाई गोलपोस्टमा पठाउँदै आफ्नो टोलीलाई अग्रता दिलाए ।

त्यस्तै, खेलको ४४औं मिनेटमा ललितपुरले दोस्रो गोल गर्न सफल भयो । निखिलको कर्नरमा अनन्त तामाङको हेडर कुलदीप कार्कीले क्लियर गरेर बल क्रसबारमा लागेपछि पापाले सहजै गोल गर्न सफल भएका थिए ।

त्यस्तै, दोस्रो हाफको सातौं मिनेटमा ललितपुरले तेस्रो गोल गरेर जीतलाई सुनिश्चित गर्यो । निखिलको क्रसमा इमोहले फारपोस्टमा फ्रि हेडरमार्फत गोल  गरे ।

खेलको ७४औं मिनेटमा काठमाडौँका कप्तान अन्जन राई दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि  १० जनामा सिमित भएको थियो ।

आजको खेसँगै जारी सिजनको र पहिलो संस्करणको लिगमा ललितपुर १–०ले पराजित भएको थियो । त्यस्तै पहिलो संस्करणको‌ दोस्रो क्वालिफायरमा काठमाडौंले ललितपुरलाई ३–० ले हराएको थियो । यस पटक एलिमिनेटरमा ललितपुरले सोही अन्तरको जित निकालेको हो ।

फाइनल पुग्नका लागि ललितपुरले बिहीबार पोखरा थन्डर्सको‌ सामना गर्नेछ । पहिलो क्वालिफायरमा सोमबार पोखरालाई टाइब्रेकरमा ४–३ले हराउँदै धनगढी एफसी फाइनल पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्