सहमतिका नाममा घेराबन्दी नगर्न प्रधानमन्त्री प्रचण्डलाई बिप्लवको चेतावनी, साँझ अर्को बैठक
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एकातिर सहमति गर्ने र अर्कातिर पक्राउ गर्न लगाउने दोहोरो चरित्र नदेखाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन्।
बुधबार समाजवादी मोर्चाको बैठकमा सहभागी हुन बालुवाटार पुगेका विप्लवले सरकारसँग भएका सहमति स्मरण गराउँदै आफूलगायतका पार्टीका नेतालाई पक्राउ पूर्जी जारी गर्नुको कारण खोजेका थिए।
यस्तो चेतावनीसहित बालुवाटारबाट बाहिरिएका विप्लवले अर्को बैठकमा निचोडसहित उपस्थित हुन प्रधानमन्त्री प्रचण्डलाई भनेका छन्। बैठक, बुधबार साँझ नै फेरि बस्नेछ।
सरकारसँग भएका सहमतिसहित अदालतले पक्राउ पूर्जी जारी गर्नुको कारण खोजेर प्रधानमन्त्री प्रचण्डसहित मोर्चा सदस्य नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र विप्लवको बैठक बस्नेछ।