अपहरणमा परेका २ नेपालीको भारतबाट उद्धार, ६ जना भारतीय पक्राउ
काठमाडौँ- दुई नेपालीको अपहरण आरोपमा भारतबाट ६ जना अपहरणकारी पक्राउ परेका छन् । चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्र महतको अपहरण गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतीय नागरिकहरुमा राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख रहेको प्रहरीले जनाएको छ ।
गत पुस ५ गते रौतहट जाने भन्दै कृष्ण र दीपेन्द्र मोटरसाइकलमा निस्किएका थिए। घरबाट निस्किएको २ दिनपछि पुस ७ गते, राति ८ बजेतिर कृष्ण थापाले फेसबूक म्यासेन्जरमार्फत् श्रीमतीलाई फोन गरी आफू अपहरणमा परेको बताएका थिए।
अपहरणकारीले ६ लाख रुपैयाँ मागेको भन्दै कृष्णले फोन गरेपछि उनकी श्रीमतीले जिल्ला प्रहरी कार्यलय चितवनमा मौखिक उजुरी दिएकी थिइन्। चितवन प्रहरीले अपहरणमा परेको घटनाबारे रौतहट प्रहरीलाई जानकारी दिएको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीहरुसँग सहयोग तथा समन्वय गरी अप्रेसन सञ्चालन गरेकामा पुस १० गते भारतको सितामढी डुम्रा थानाबाट खटिएको भारतीय प्रहरीले अपहरणमा परेका थापा र महतलाई सितामढीबाट सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।
उद्धारपश्चात रौतहट प्रहरीले उनीहरुलाई परिवारको जिम्मा लगाएको छ ।