Nic Ad Nic Ad
Nic Ad Nic Ad
धरान उपमहानगरपालिका मेयर

फेरि विवादीत विषयमा हर्क साम्पाङ, नयाँ घोषणा गरिदिए

बिहीबार, पुस १२, २०८०

धरान– श्रमदान गरी धरानवासीको तिर्खा मेट्ने काममा सक्रिय रहेका कारण चर्चा कमाएका मेयर हर्क साम्पाङ बेलामौका विवादीत अभिव्यक्तिका कारण ल्यामलाइटमा रहने गरेका छन् ।

धरान–इटहरी सीमा, निजी जग्गामा वृक्षारोपण, मन्दीर अगाडि चर्च खडा हुँदा अदालत जानू भन्ने अभिव्यक्तिले मात्र होइन, काठमाडौंमा आफू पुगेपछि फोहोर उठेको भन्ने जस्ता टुक्काले साम्पाङ विवाद र चर्चामा रहने गरेका थिए ।

पछिल्लो पटक राजनीतिक दल खोल्दा के हुन्छ भन्ने विकल्प प्रस्तुत गरेका साम्पाङ धरानमा विमानस्थल बनाउने विषयको चर्काचर्कीले पनि चर्चामा थिए ।

यीभन्दा फरक प्रसङ्गमा साम्पाङ फेरि चर्चामा छन् । उनले सामाजिक सञ्जालमार्फत विहीबारबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर धरान उपमहानगरपालिकाको आफ्नो कार्यकक्षबाट हटाउने घोषणा गरे । यति मात्र होइन, उनले किराँती राजा यलम्बरको तस्बिर राख्ने घोषणा गरेका छन् ।

केन्द्रीय सत्तालाई चेतावनीका साथ बुधबार उनले सामाजिक सञ्जालमा लेखे,‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु । जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ।’

त्यसो त कार्यकक्षमा यलम्बरको तस्बिर राख्दा आपत्ति हुने विषय नै होइन । तर, राष्ट्रपति र प्रधानमन्त्रीको हटाउने विषयचाहिँ विवादीत अभिव्यक्ति भएको कतिपय नेता कार्यकर्ताले बताएका छन् ।

कार्यकक्षमा कार्यालय प्रमुखले चाहेको तस्बिर राख्न पाउँछ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ग्रेटर नेपाल, पृथ्वीनारायण शाहको तस्बिर राखेका छन् । यसबाहेक नेपाली सेनाका प्रधानसेनापतिको कार्यकक्षमा पनि पृथ्वीनारायण शाहको तस्बिर राखिएको छ ।

यसबाहेक मधेस प्रदेश प्रमुख रहेका बेला डा. राजेश अहिराजले पनि पृथ्वीनारायण शाहको तस्बिर राखेका थिए । साम्पाङले यलम्बरको तस्बिर राख्छु भन्नु अनुपयुक्त होइन । यलम्बर किराँतीका प्रथम राजा थिए ।

किराँतीहरूको रहनसहन, व्यापारदेखि रीतिथिति बसाउने यलम्बरका अनेक योगदान रहेका छन् । यलम्बर महाभारतकालिन बर्बरीकको अवतार पनि मानिन्छन् । बर्बरिक महाभारतका पात्र भिमका नाती घटोत्कचका पुत्र भनि चित्रण गरिएको छ ।

काठमाडौं उपत्यका गोपाल बंश राजालाई पराजित गरी राज्य स्थापित गर्ने पहिलो ठूलो किराँत राजाका रुपमा यलम्बरको ऐतिहाँसिक परिचय पनि छ । यलम्बरको उत्तराधिकारिहरूले लगभग १९०३ वर्ष ८ महिना लामो ३१ पुस्तासम्म काठमाडौंमा शासन गरेको भनी चर्चा हुने गरेको छ । सुनुवार, राई, लिम्बु, याक्खा आदि इत्यादी किराँती राजाका सन्तानका रुपमा परिचित छन् ।

उनै यलम्बरको तस्बिर राख्ने घोषणा गरी साम्पाङ फेरि चर्चामा रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्