भृकुटीमण्डपमा आठौं घरजग्गा मेला सुरू
काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा आठौं घरजग्गा मेला सुरू भएको छ । बिहीबारबाट सुरू भएको मेलाको भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले उद्घाटन गरिन् ।
मेला पौष १५ गतेसम्म सञ्चालन हुनेछ । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा सुरू भएको मेलाले क्रेता र विक्रेताहरूबीचको असमझदारीलाई सम्बोधन गर्ने र अहिलेको अवस्थामा आर्थिक अवस्थालाई चलायमान बनाउने उद्देश्य राखिएको छ ।
मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा डेढ लाखसम्म अवलोकन कर्ताले अवलोकन गर्ने अपेक्षा लिएको संघका अध्यक्ष विदुर धमलालले बताए ।
उनले मेलामा २५ वटा स्टल घरजग्गासँग सम्बन्धित रहने र बाँकी घरजग्गासँग सम्बन्धित बैंक फाइनान्स, इन्स्योरेन्स कम्पनी, होम एप्लाइन्सका कुरा, टायल्स, सेनिटरीलगायतका स्टलहरू रहने बताए । मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टील, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्री प्रदर्शनमा राखिनेछ । मेलाबाट २ अर्ब ५० करोड रूपैयाँभन्दा बढीको कारोबार गर्ने अपेक्षा आयोजकले लिएको छ ।