कांग्रेसलाई मापदण्डका आधारमा राष्ट्रियसभा निर्वाचन उमेदवार बनाउनुपर्ने सुझाव
काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरुले मापदण्डका आधारमा राष्ट्रियसभा निर्वाचनमा उमेदवार बनाउनुपर्ने सुझाव दिएका छन् ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुबाट राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्ने, नयाँलाई अवसर दिनुपर्ने लगायतका सुझाव आएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
पार्टीले न्याय गर्नुपर्ने, पार्टीका नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने, फरक नीतिहरु महासमितिले पारित गर्नुपर्ने लगाएतका सुझाव आएको उनले बताए ।
त्यस्तै, सोमबार प्रज्ञा भवनमा मनाइने राष्ट्रिय मेलमिलाप दिवसलाई प्रभावकारी रुपमा मनाउनुपर्ने र अन्य दलहरुलाई समावेश गराउनुपर्ने सुझाव समेत आएको विश्वकर्माले जानकारी दिए ।
बैठकमा पार्टी सांगठानीक बिषय, महासमिति बैठकको तयारी, मेलमिलाप दिवस, राष्ट्रियसभा निर्वाचन, समूदायमा कांग्रेस, सरकारका रहेका मन्त्रीहरुको काम लगाएतका बिषयमा छलफल भएको उनले बताए ।