Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्रधानमन्त्रीकप क्रिकेट

प्रधानमन्त्रीकप क्रिकेट: डोटीमाथि डडेल्धुराको शानदार जित

बिहीबार, पुस १२, २०८०

बैतडी– जारी प्रधानमन्त्रीकप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा डडेल्धुराले डोटीमाथि शानदार जित निकालेको छ । 

प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने क्रममा डडेल्धुराले डोटीलाई १० विकेटले पराजित गरेको हो । जितका लागि पाएको ७० रनको सामान्य लक्ष्य डडेल्धुराले १२ दशमलव एक ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो । त्यसमा विशाल ऐेर ४७ र निशान्त बुढाऐर १७ रनमा अविजित रहे । 

यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर ब्याटिङको निम्ता पाएको डोटी १९ दशमलव चार ओभरमा ६९ रनमा समेटियो । डोटीका कप्तान भोजराज भट्ट र पारस महतले समान १५/१५ रन बनाए । डडेल्धुराका लागि कप्तान सुरज देउवाले चार र निरज ऐरले तीन विकेट लिए । सुरज खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए । 

दोस्रो जित निकालेको डडेल्धुराको क्वालिफायर हुने सम्भावना जीवितै रहेको छ । शुक्रबार हुने डोटी र बझाङबीचको खेलले क्वालिफायर हुने टोलीको टुङ्गो लाग्नेछ । बझाङ विजयी भए सोझै क्वालिफायर हुनेछ भने पराजय भए डोटी, डडेल्धुरा र बझाङको कुल रनरेटका आधारमा क्वालिफायरको टुङ्गो लाग्नेछ । 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा यही पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो ।  प्रादेशिक क्रिकेट सङ्घले यसवर्षदेखि दुई चरणमा छनोट गरिरहेको छ । पहिलो चरणमा बैतडीमा ‘प्लेट च्याम्पियनसिप’ भइरहेको छ । दोस्रो चरणमा कैलालीमा ‘इलिट च्याम्पियनसिप’का खेल हुनेछन् । 

प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा र डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम  सहभागी छन् ।  गतवर्षको प्रदेश छनोटमा सेमिफाइनल पुगेका टोलीले सोझै इलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन् । प्लेट च्याम्पियनसिपको विजेता टोली इलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहराले बताए ।

खेलाडीको क्षमता अभिवृद्धिका लागि प्लेट र इलिट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट सङ्घ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले बताए । –रासस

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार