Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल सुपर लिग–२

पोखरालाई हराउँदै ललितपुर फाइनलमा !

बिहीबार, पुस १२, २०८०

काठमाडौँ– नेपाल सुपर लिग–२ अन्तर्गत दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसी फाइनलमा पुगेको छ ।

दशरथ रंगशालामा अतिरिक्त समयसम्म लम्बिएको आजको खेलमा २–१ को रोमाञ्चक जित दर्ता गर्दै ललितपुर फाइनलमा प्रवेश गरेको हो । 

पहिलो हाफमै १० खेलाडीमा सिमित ललितपुरले खेलको ९० मिनेटभन्दा बढी समय कम खेलाडीमा खेलेर जित दर्ता गर्न सफल भएकाे हाे । ललितपुर खेलको ३४औं मिनेटमा १० जनामा सिमित भएकाे थियाे ।

पहिलो हाफमा इन्ज्युरी समयको पहिलो मिनेटमा ललितपुरले खेलमा अग्रता लियो । इमोहले दिनेश र क्वेटेको दबाब छिचोल्दै पेनाल्टी क्षेत्रभित्र पुगेर इभ्स प्रिसोलाई सहजै बिट गर्दै गोल गर्न सफल भए ।

खेलको ७१औं मिनेटमा पोखराले बराबरी गोल फर्कायो । आइडुको क्रसमा अन्नोरले हेडर मार्फत गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भए ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुग्याे ।

खेलको अतिरिक्त समय ९९औं मिनेटमा ललितपुरले खेलमा पुनः अग्रता लियाे । ओमोलाजा करिमको फ्रिकिकमा अनन्तको हेडर पश्चात पोखराको डिफेन्सले बल क्लियर गर्न नसकेपछि कुशल देउवाले गोल गर्दै खेलमा ललितपुरलाई पुनः अग्रता दिलाए ।

खेलको १०९औं मिनेटमा पोखराले फ्रिकिकको अवसर पाएपनि गोलमा परिणत गर्न सकेन । पोखराका गोलरक्षक प्रिसो फ्रिकिक प्रहार गर्न अगाडि आएका थिए । तर उनको फ्रिकिक पोस्टको निकै माथिबाट बाहिरियो ।

लिग तालिकामा शिर्षस्थान हासिल गरेको पोखरा पहिलो क्वालीफायरमा धनगढीविरुद्ध टाईब्रेकरमा पराजित भएकाे थियाे ।ललितपुर इलिमिनेटरमा काठमाडौँलाई ३–० ले पराजित गर्दै यहाँको यात्रा तय गरेको हो ।

धनगढी शनिबार हुने फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  २०:२५
प्रतिक्रिया दिनुहोस्