दुई जना मृत्यु भएपछि आयो अदालतको आदेशः इच्छुक सबैलाई परिक्षामा सामेल गराउनू
काठमाडौं– कोरिया रोजगारीका लागि सीप विल्डिङमा आवेदन दिएका सबैलाई ईपीएस परिक्षामा सहभागी गराउन उच्च अदालत पाटनले आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो। गणेश राईलगायतले दायर गरेको निवेदनमाथि उच्च अदालतले सुनुवाई गरेको थियो।
‘निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०।८।१९ को सूचना बमोजिम मिति २०८०।९।२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । प्रस्तुत आदेशको जनाउ विपक्षीहरूलाई दिई नियमानुसार गर्नू ।’
१८ जनाले आवेदन भर्न पाए पनि अन्यले नपाउँदा बालकुमारी क्षेत्रमा प्रदर्शन भएको थियो। सोही क्रममा भएका झडपमा दुई जनाको मृत्यु भयो। मृत्यु भइसकेपछि अदालतको आदेश आएको छ।