बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए जानकारी
काठमाडौं - शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग जानकारी लिएका छन् ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाको जानकारी लिएका हुन् ।
ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित थिए ।
ब्रिफिङमा उनीहरूले घटनाको बारेमा जानकारी गराउँदै छानविन समितिसमेत गठन गरिएको प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।
प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुखद् भएको बताउँदै छिटो र निष्पक्ष छानविन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताए ।