बालुवाटारमा ६ प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए हेटौँडा र पोखरा बैठकका निर्णय
काठमाडौं - सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकार गम्भीर नभए सङ्घर्षमा जाने चेतावनीसहित काठमाडौं आएका ६ प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।
संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा दुई दिन हेटौँडा छलफल गरेर काठमाडौं आएका मुख्यमन्त्रीहरूले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । मुख्यमन्त्रीहरूको टोलीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने सहभागी छैनन् । उनी हेटौँडाबाट धनगढी फर्किएका छन् ।
मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँगको भेटमा हेटौँडा बैठकले गरेको निर्णय र पोखरा बैठकको निर्णयबारे ध्यानाकर्षण गर्दै हेटौँडा बैठकले गरेका नौ बुँदे साझा पत्र प्रधानमन्त्रीलाई बुझाएका छन् । भेटमा मुख्यमन्त्रीहरुले सङ्घीयता कार्यान्वयन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्।