बालकुमारी घटनामा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित
काठमाडौँ- सरकारले शुक्रबार भएको बालकुमारी घटनामा सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवार निलम्बन गर्ने निर्णय गरेको छ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकमा उनीहरुलाई निलम्बन गर्ने निष्कर्षमा पुगेका हुन् ।
शुक्रबार भएको सो घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने ब २ झ ५८६१ नम्बरको गाडी ललितपुरको बालकुमारीमा आगजनीबाट ध्वस्त भएको थियो ।
कोरियन भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि सो क्षेत्रमा तनाव भएको थियो । सो घटनामा दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाह रहेका छन् । प्रदर्शनका क्रममा घाइते भएका राउतको किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।