बालकुमारीबाट पक्राउ गरिएका ७३ जनालाई मुद्दा नचलाइने
काठमाडौं- ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा पक्राउ गरिएका ७३ जनालाई छाड्ने तयारी गरिएको छ । उनीहरूलाई आफन्तको जिम्मा लगाएर छाड्न लागिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी गराएको छ ।
उनीहरूलाई शनिबारै छाडिनेछ । पक्राउ गरिएका ७३ जनामाथि कुनै मुद्दा नचलाउने निर्णय गरिएको प्रहरी स्रोतले जानकारी गरायो ।
रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन फाराम भर्न नपाएको भन्दै असन्तुष्ट युवाको समूहले शुक्रबार बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि प्रदर्शन गरेको थियो । मन्त्रीको गाडीमा आगजनी समेत गरिएको थियो ।
प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।
मृतकको शव पाटन अस्पतालमा राखिएको छ । दुवै शव आफन्तले बुझ्न बाँकी छ । शव बुझ्न कुनै माग भने नगरिएको प्रहरीले जनाएको छ ।