बालकुमारी घटना : मृतकका परिवारलाई १०/१० लाख दिने, घाइतेको उपचार सरकारले गर्ने
काठमाडौँ - शनिबार बसेकाे मन्त्रिपरिषद् बैठकले बालकुमारी घटनामा मारिएका दुई जना युवकको परिवारलाई राहत स्वरुप १०–१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा सरकारले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
साथै प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरिएकाे सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। यसका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई रकम निकासा गरिने भएकाे छ । मन्त्री शर्माका अनुसार भविष्यमा यस्ता घटना हुन नदिन सुरक्षा संयन्त्रलाई सजग बनाउने निर्णय भएको छ ।
शुक्रबार ललितपुरकाे बालकुमारीमा भएको प्रहरीसँगको झडपमा परी अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका २३ वर्षीय वीरेन्द्र बहादुर शाह र दैलेखको महावु गाउँपालिका–६ घर भएका २३ वर्षीय सुजन रावतको मृत्यु भएको थियो।