२८० सुरक्षाकर्मीले ७ हजारको भिड नियन्त्रण गर्न गर्छ फायरिङ
काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको निर्देशनमा नै बालकुमारीमा उनी सवार गाडी चलाइएको खुलेको छ। सोही ठाउँमा चलेको पार्टीको बैठकमा सहभागी भएर मन्त्री ज्वाला आन्दोलन भएको सडकबाट निस्किएको पनि खुलेको छ।
मन्त्रीका पीएसओ बोधराज दनुवारले सुरक्षा सतर्कताको जानकारी नलिएका कारण मन्त्रीको गाडी मात्र जल्ने स्थिति आएन, दुई जनाको ज्यान जानेगरी झडप र गोली चलाउने स्थिति पनि बनेको थियो।
करिब ७ हजारको आक्रोशित भिड नियन्त्रणका लागि सीमित संख्यामा रहेका सुरक्षाकर्मीसँग अश्रुग्यास प्रहार, लाठी चार्ज र हवाई फायर गर्नुको विकल्प थिएन। थप सुरक्षा बल आइनपुगेका कारण यस्तो स्थिति आएको उच्च सुरक्षा स्रोतलाई बुझाइएको प्रतिवेदनमा उल्लेख रहेको छ।
आन्दोलनरत क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी जम्मा २८० जना मात्र खटाइएको थियो । थप सुरक्षाकर्मी आउनुपूर्व नै आन्दोलनले उग्रता लिइसकेको थियो।
नेपाल प्रहरीका १५० र सशस्त्रका १३० गरी २८० जनाको जनशक्ति तैनाथ रहेका थिए। उच्च अधिकारी भन्छन्,‘सबै जिम्मेवारीबाट पन्छिने यस्तो अवस्थामा सुरक्षा निकायले के गर्छ त।’
प्रहरीले १२४ सेल अश्रुग्यास, १८ राउन्ड हवाई फायर र गोलीसहितको फायर २० राउन्ड मात्र चलाएको थियो। स्रोतले भन्यो,‘तर कारबाही र चेपुवामा फिल्डमा खटिएका अधिकारी, सुरक्षा प्रमुखलाई पारियो।’
प्रहरीको गोली लागी अछामको चौरपाटी गाउँपालिका १ बस्ने वर्ष २१ का वीरेन्द्र शाहको मृत्यु भयो। दैलेखको महावु गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ का सुजन राउतको पनि सोही घटनामा मृत्यु भएको थियो।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै फिल्डमा खटिएका डीएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ बोधराज दनुवारलाई निलम्बनको निर्णय गरेका थिए। यस्तै ललितपुर प्रहरी प्रमुख शिद्धिविक्रम शाह, ललितपुरका सिडिओलाई तानिएको छ।
‘सरकारमा सहभागी भएका राजनीतिक दलले आफ्ना गल्ती लुकाउनका लागि प्रहरीलाई चेपुवामा पार्छन्’, एक पूर्वआईजी भन्छन्,‘कति कठिन अवस्थामा सुरक्षा दिनुपर्छ र फिल्डमा खटिनुपर्छ भन्ने नेतालाई थाहा भएर पनि जिम्मेवार बन्दैनन्।’