भारतको नयाँदिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ
काठमाडौँ- भारतको नयाँदिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा गल्याङ नगरपालिका–७ का वर्ष ३५ का टीकाराम भण्डारी र उनकी श्रीमती वर्ष ३१ की अस्मिता भण्डारी छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई कञ्चनपुरको सीमा इलाकाबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँमा पेस गरेको छ । भण्डारी दम्पतीले भारतको दिल्लीस्थित विभिन्न होटेल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट भारतको दिल्ली पुर्याई बेश्याबृत्तिमा लगाउने गरेको प्रहरीले जनाएको छ ।
उनीहरूले आफैले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने गरेको अनुसन्धानमा खुलेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए । भण्डारी दम्पतीले वेबसाइटमार्फत अनलाइन बेश्याबृत्तिको –याकेट चलाउने गरेको पाइएको छ । ह्वाट्सएप ग्रुप बनाई सम्पर्कमा आएका ग्राहकहरूले अनलाइन पेमेन्ट गरिसकेपछि ग्राहकले भनेको स्थानमा युवतीहरूलाई पठाउने गरेका थिए । पक्राउ परेका अभियुक्तहरूले भारत पुर्याएका नौजना युवतीहरूलाई ब्युरोको समन्वयमा उद्धार गरिएको छ ।