नेभिगेशन
समाचार
पूर्वराजाकाे नागरिक अभिनन्दन

मलाई आऊ देश बचाऊ भनेको सुन्छु, म नेपालभित्रै छु : पूर्वराजा शाह

भैरहवा– पूर्वराजा ज्ञानेन्द्र शाहले देशको हिजो र आजको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन् ।

भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा उनले आफूलाई जता जाँदा पनि जनताले सरकार सञ्चालन गर्न आउन र देश बचाउन आग्रह गरिरहेको बताए । 

कार्यक्रममा मन्तव्य राख्दै पूर्व राजा शाहले भने, “म जता जाऊँ, जहाँ पुगूँ, जनआवाज उठेको सुन्छु । मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ भनेको सुन्छु ।” जनताको नजरबाट आफू कतै नगएको उनको भनाइ थियो ।  ‘नेपालीहरूको सुख–दुःख, सुविधा–असुविधा, बाधा–पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु,’ उनले भने ।

देश जर्जर बनेको तथा बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरू विदेश जान बाध्य भएका उल्लेख गर्दै उनले थपे, ‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर, असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएको छ, यस्तो अवस्थाको अन्त्य हुनै पर्दछ ।’

उनले नाम नलिई राजनीतिक दलका नेताहरूको आलोचना गर्न भ्याए । पूर्व राजा शाहले भने, “अनुहार फेरी फेरी षड्यन्त्र नगर ।” अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्नेमा जोड दिँदै पूर्वराजा शाहले आफू मात्र सही भन्न छाड्नुपर्ने धारणा राखे । विगतका सबै दुःख बिर्सिन र घृणाको आगो मिलेर निभाउन आग्रह गर्दै शाहले भने, ‘अब भाँच्चिएका टुक्राहरू जोडिदेऊ । उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने ? पहिले अन्याय, अत्याचारबाट मुक्त गरिदेऊ। अनुहार फेरि–फेरि षडयन्त्र नगर । त्यस्ता चालबाट आफूलाई बचाइदेऊ ।’

राष्ट्रको अस्तित्वमाथि खिया लाग्दै गएको उनको टिप्पणी थियो । आफू नेपालीकै बीचमा रहेको र बोलिरहेको उनले बताए । कार्यक्रममा शाहले भने, “म बोलिरहेको छु, देश बचोस्, देश बनोस् भन्ने पुर्ख्यौली भावना पोखिरहेको छु।”

भिडिओ हेर्नुहोस्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार