एस. जयशंकरले खोलिदिए नेपाली नेताको पोल, छताछुल्ल भयो खोक्रो राष्ट्रवाद
काठमाडौं– संयुक्त आयोगको बैठकमा भाग लिनका लागि काठमाडौं आएका भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले तीन पूर्वप्रधानमन्त्रीसहित नेताका कुटनीतिक लाचारीपनको पोल खोलेका छन्।
पूर्वप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लाइन लागेर जयशंकरसँग भेट्न पुगेका थिए। यस्तो कुटनीतिक लाचारीपन १० बर्षपछि त्यहि बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा देखिएको हो।
यसअघि भारतका तत्कालिन विदेशमन्त्री सलमान खुर्सिद आएका बेला पनि यसैगरी नेताहरूको लर्को द्वारिकाजमा देखिएको थियो।
नेपालका पूर्वप्रधानमन्त्रीसहितका मधेसवादी दलका नेतासँग भेटेको तस्बिर जयशंकरले ट्वीटरमार्फत सार्वजनिक गरेका छन्। कुटनीतिमा यस्तो विषयलाई होच्याएको शैलीमा टिप्पणी गर्न सुहाउँछ।
मधेसवादी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमतका अध्यक्ष सिके राउतले सामूहिकरूपमा जयशंकरसँग भेटेका थिए।
नेपालका नेतासँगको भेट मिलाउने जिम्मेवारी परराष्ट्र मन्त्रालयको हुन्छ। तर उसले कुनै जानकारी दिएको छैन। उता तीन पूर्वप्रधानमन्त्री तथा सत्तारुढ पार्टीका शीर्ष र प्रतिपक्षी दलका नेतालाई शिष्टाचार भेट गर्न जयशंकर आफैं जानुपर्ने भए पनि नेपालका नेताको लाचारीपन छताछुल्ल भएको हो।
‘कुनै प्रोटोकोल छैन। लाइन लागेर नेताहरू एउटा विदेशमन्त्री भेट्न किन पुगेका होलान् भन्ने विषयबस्तु पनि छैन’, उच्च अधिकारी भन्छन्,‘यस्तो संस्कार भारतले पहिलादेखि नै गरेको छ। उसले हेपाईको दृष्टिकोणमा व्यवाहार गरि आएको छ।’
भारतसँग टकराव लिन सक्ने नेताका रुपमा दरिएका एमाले अध्यक्ष ओलीको राष्ट्रवाद पनि छताछुल्ल भएको छ। जयशंकर तिनै हुन् जो ०७२ सालमा आएर संविधान जारी नगर्नु भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएर गएका थिए। तर, संविधान जारी भएपछि नाकाबन्दी गरिएको थियो। त्यसको तत्कालिन प्रधानमन्त्री ओलीले खरो रुपमा प्रतिवाद गर्दा राष्ट्रवादी नेता कहलिएका थिए। तर, उनको राष्ट्रवादमा खिया लागिसकेको जयशंकरका तस्बिरले प्रष्ट पारेको छ।
समय नभएको भनी सबै नेतालाई भारतीय दूतावासमार्फत भेट गर्न आवश्यक भएको खण्डमा द्वारिकाज होटलमा व्यवस्था मिलाइएको भन्ने सन्देश पठाइएको थियो। जयशंकरसँग लाइन लागेर भेट्न पुगेको विषयमा कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा र जनमतले कुनै आधिकारिक जानकारी दिएका छैनन्।
जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगचाहिँ शिष्टाचार भेट गरेका थिए। राष्ट्रपति पौडेलसँग शितलनिवासमा भेट गरे पनि जयशंकरले प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेट गर्न मानेनन्। यसैकारण प्रचण्डले सिंहदरबारस्थित कार्यालयमा उनलाई समय दिएका थिए।