‘पल्सर स्पोर्ट्स अवार्ड’को २०औं संस्करण माघ १२ मा हुने
काठमाडौँ– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा पल्सर स्पोर्ट्स अवार्ड माघ १२ गते हुने भएको छ ।
खेलकुद पत्रकार मञ्चले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औं संस्करण आगामी माघ १२ गते आयोजना हुने जनाएको हो । अवार्डमा ९ विधा नै समावेश गरिएको छ ।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहने मञ्चले जनाएको छ । वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
मनोनयन नहुने विधा लाइफटाइम स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिने बताइएको छ । पत्रकार सम्मेलनमा अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलसँग प्रायोजक सम्झौता पनि गरेको छ ।
सम्झौताअनुसार हंशराज हुलासचन्द एन्ड कम्पनीले वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी ५ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गर्नेछ ।