मुलुकमा राजतन्त्र फर्काउने गरि गतिविधि भइरहेको छ : माधव नेपाल
कैलाली- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहिले मुलुकमा राजतन्त्र फर्काउने गरि गतिविधि भइरहेको भन्दै उनले अब राजतन्त्र फर्किने सम्भावना रहेको बताएका छन् ।
कैलालीको टिकापुरमा आजबाट सुरु भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा बोल्दै उनले गणतन्त्र फर्किन सक्ने सम्भावना नरहेको प्रस्ट पारेका हुन् ।
‘गणतन्त्रका विरुद्धमा, हराइसकेको, बितिसकेको कामै नलाग्ने अवस्थामा पुगेको संस्थाको विषयमा आवाज उठ्न थालेको छ’, उनले भने, ‘केही मान्छेले खुट्टा उचालिरहेका छन्। राजतन्त्र इतिहास भइसकेको छ अब त्यो सम्भव छैन ।’
उनले पार्टी व्यवस्था भन्दा निर्दलीय, निरङ्कुश र अधिनायकवाद काम नलाग्ने जिकिर गरे । उनले भने, ‘एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउने व्यवस्था काम लाग्दैन । फेरी दास बनाउने गरि कोही आउन थालेको छ भने त्यो स्वीकार्य हुँदैन ।’
उनले पार्टीले निर्वाचित जनप्रतिनिधिलाई निगरानी राख्नु पर्नेमा जोड दिए । ‘कुनै पार्टी र नेताले गल्ती गरेको भन्दैमा सबै नेता खराब सबै पार्टी गलत भन्न मिल्दैन’, नेपालले भने ।
नेपालले रेशम चौधरी घटनामा प्रत्यक्ष रुपमा नरहेको बताएका थिए । ‘सबै समुदायको बीचमा सम्मानको व्यवहार गर्नु पर्छ । यो देशको आफ्नो पहिचानलाई जोगाउनु पर्ने छ’, नेपालले भने, ‘हाम्रा युवाहरू विदेश पलायन भइरहेका छन्। त्यो संख्या कम गर्नु पर्छ । तीनै तहको सरकारको ध्यान दिनु पर्छ ।’
आफ्नो पहलमा सुदूरपश्चिम प्रदेशमा विभिन्न विकासका कामहरू अगाडी बढेको समेत बताए । सेती लोक मार्ग, रानीजमरा कुलरिया सिचाइ आयोजना, सुदूरपश्चिम विश्वविद्यालय, गेटामा मेडिकल कलेज आफ्नै पहलमा सुरु भएको बताए ।