नेभिगेशन
समाज विविध

नागरिकता किर्ते प्रकरणमा मुछिए वीरगञ्ज महानगरका मेयर सिंह, छानबिन समिति बन्यो

काठमाडौं– वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह नागरिकता किर्ते गरी बनाएको अभियोगमा मुछिएका छन्।

एक जना मात्र सन्तान रहेका उनले छोरीको बाबु बनेर अर्को नागरिकता बनाइदिएको विवरण सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले छानबिन समिति बनाएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ। समितिले ५ दिनको कार्यादेश पाएको छ। समितिले जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाउनेछ। 

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार समितिले नागरिकता जारी गर्ने तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेललाई बयानका लागि बोलाएको छ। तत्कालीन प्रशासकीय अधिकृत पोखरेलले राजेशमान सिंहलाई बाबुका रुपमा सनाखत राखी रुबिना श्रेष्ठलाई नागरिकता दिएका थिए। 

मेयर सिंह बाबुका रुपमा सनाखत बसेर २०७४ सालमा वडा न ३ बाट सिफारिस बनाएर रुबिना श्रेष्ठका नाममा नागरिकता जारी भएको सतहमा आएको थियो। त्यसबेला उनी मेयरमा निर्वाचित भएका थिएनन्। 

मेयर सिंहकी श्रीमती अन्नपुर्ण मानन्धरले राजेशमान र आफ्नो एउटा छोरा मात्रै भएको बताएकी थिइन्। मेयर सिंहलाई चिन्नेहरूले पनि उनको एक मात्र सन्तान रहेको बताएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध