Nic Ad Nic Ad
Nic Ad Nic Ad

अभ्यास खेलमा नेपालले नामिबियालाई ६ रनले हरायो

शुक्रबार, पुस २७, २०८०

काठमाण्डौं - १९ वर्षमुनिको अभ्यास खेलमा नेपालले नामिबियालाई ६ रनले हराएको छ । दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको यो लगातार दोस्रो जित हो ।

जितका लागि १ सय ४२ रनको मध्यम लक्ष्य पछ्याएको नामिबिया २९ ओभर ५ बलमा १ सय ३५ रनमा अल आउट भयो । नामिबियाका कप्तान बसिंग–वोल्स्चेंकले सर्वाधिक ५० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । नेपालका गुलशन झा र आकाश चन्दले समान ३ विकेट लिए ।

दुर्गेश गुप्ताले २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । वर्षाका कारण खेल ३० ओभरमा झारिएको थियो । नेपालका दीपक डुम्रेले सर्वाधिक ३२ रन बनाए ।

नेपालले पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई १ सय ३५ रनले हराएको थियो । नेपालले भोलि स्कटल्यान्ड र मङ्गलवार वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्नेछ । माघ ५ गतेदेखि शुरु हुने १९ वर्षमुनिको विश्व कपमा नेपालले आफ्नो समूह ‘डी’ मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ०९:५९
प्रतिक्रिया दिनुहोस्