पुबुदुले खोलिदिएको भाग्यको ढोका होटल कोठामा भयो बन्द तर ‘पिक्चर बाँकी छ’
काठमाडौं– शतकअघिका अमेरिकी कानुनकर्मी दार्शनिक थोमस जेफरसनले भनेका थिए,‘म भाग्यमा विश्वास गर्छु । तर, अथक मिहेनतसँगै काम पनि गर्छु।’
बलात्कार अभियोगमा जिल्ला अदालत काठमाडौंबाट ८ बर्ष कैद सजाय तोकिएका नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान, लेग स्पिनर बलर सन्दीप लामिछाने जेफरसनको भनाईको ट्रयाकमा थिए ।
उनले अथक मिहेनत गरे त्यसको प्रतिफल प्राप्त भइरहेको थियो। उनको भाग्यको ढोका पनि अनौठो हिसाबले अचानक खुलेको थियो र त्यसरी नै अचानक बन्द हुन पुग्यो। तैपनि टिप्पणी गर्छु– पिक्चर अझै बाँकी छ।
सन् २०१५ मा नेपाल क्रिकेट टोलीका क्यानडेली मूलका श्रीलङ्काली प्रशिक्षक पुबुदु दशानायके राष्ट्रिय टोलीका स्पिनर वसन्त रेग्मीको बिहेमा सहभागी हुन चितवन पुगेका बेला सन्दीपको अतुलनीय खेल देखेका थिए। त्यो प्रतिभा देखेकै कारण पुबुदुले सन्दीपलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा अचानक बोलाए । त्यहाँबाट उनको भाग्यको ढोका खुल्यो।
सन् २०१६ जनवरीमा बाङ्लादेशमा भएको यू–१९ विश्वकप उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। उक्त प्रतियोगितामा नेपालको यात्रा क्वार्टर फाइनलमा पुगेर रोकियो। १५ बर्षको उमेरमा रहेका सन्दीपले अतुलनीय प्रतिभा देखाए।
उनको खेलयात्रा निरन्तर उकालो लाग्यो। ओरालोतिर उनले हेर्नु परेन। कयन रेकर्ड तयार पारे, कयनका मन जिते। उनको रेकर्डका तथ्यांक अहिले पनि फेला पर्छन्। तर, त्यतातिर फर्किनुभन्दा उनको मिहेनत र भाग्यसहितका विषयमा टिप्पणी गरौं।
नेपालबाट भारतीय प्रिमियर लिग (आईपीएल)मा खेल्ने उनी पहिलो खेलाडी दरिए। जसले अन्तर्राष्ट्रिय चर्चा मात्र कमाएनन् कयन फ्यान पनि कमाए।
यसपछि अस्ट्रेलियालगायतका देशमा उनको आन्तरिक खेलमा डिमान्ड ह्वात्त बढ्यो। एकातिर नाम र उचाई कमाइरहेका थिए भने अर्कातिर आर्थिक रुपमा पनि उनी नेपालका अन्य क्रिकेटरभन्दा दामी बनिरहेका थिए।
एउटा स्टार क्रिकेटर भएपछि कयन फ्यान हुनु नौलो कुरा भएन। सोही क्रममा उनको संगती ‘गौशला २६’सित बढेको थियो। यो संगतीको नियती घुमफिर, रमाइलोमा निरन्तर चलिरहेको मात्र थिएन, होटलको कोठासम्म पुग्यो।
पहिला त नाबालिगसँग सम्बन्ध राखेको भन्ने उनीमाथि अभियोग लाग्यो। तर, लामो समयसम्म अदालतमा बहस र पैरवी हुँदै जाँदा गौशाला २६ नाबालिग नरहेको प्रमाणित हुँदै सन्दीपमाथि बलात्कारको दोषमा सजाय तोकियो। एउटा बिहेमा पुगेका पुबुदुले खुला रुपमा खोलिदिएको उनको भाग्यको ढोका सिनामंगलस्थित होटल काठमाडौं इनको कोठामा बन्द भयो। तर, कैफियत बाँकी छ।
सन्दीपका तर्फबाटका लडिरहेकी कानुन व्यावसायी भन्छिन्,‘कोठाभित्र त्यस्तो कुनै काम नभएको र आफू रातभरी कुर्सीमा बसेको बताएका छन्। प्रमाणित हुने धेरै आधार छन्।’
सन्दीपका तर्फबाट बहस पैरवी गरिरहेका कानुन व्यावसायी उच्च अदालत पाटन जाँदैछन्। उच्च अदालतले यो मुद्दालाई विचार गरी जिल्लाको आदेश उल्ट्याउने सम्भावना अहिले पनि कायम रहेका कारण जे पनि हुन सक्ने अनुमान गरिन्छ।