Nic Ad Nic Ad
Nic Ad Nic Ad

विमानस्थल भन्सारमा सुरक्षा लापरवाही भएपछि सशस्त्र प्रहरीको डफ्फा खटाइयो, ‘सेटिङ भत्किने’

मंगलबार, माघ २, २०८०

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारबाट निरन्तर तस्करीका सुनलगायतका सामान सेटिङ गरेर निस्कन थालेपछि गृह मन्त्रालयले सुरक्षा चेकजाँचको सहायक शक्तिका रुपमा सशस्त्र प्रहरी बलको एउटा डफ्फा खटाएको छ। 

सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर)को कमान्डमा भन्सार सुरक्षाका निम्ति ३० जनाको डफ्फा खटाइएको मन्त्रालयले जनाएको छ। सशस्त्र प्रहरीको टोलीले सोमबारदेखि नै सुरक्षा चेकजाँच थालिसकेको छ। 

भन्सारकै नेतृत्व र निर्देशनमा सशस्त्र प्रहरीले विमानस्थलको आगमन कक्षको भन्सार क्षेत्रमा चेकजाँच सुरु गरेको छ। निजी कम्पनीका सुरक्षाकर्मीले चेकजाँच गरिरहेको जिम्मेवारी सशस्त्र प्रहरीले पाएको हो। 

पुस २६ गते नै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्णय गरे पनि सोमबारबाट मात्र सशस्त्र प्रहरी विमानस्थल भन्सार सुरक्षाका लागि पुगेको थियो। भन्सार कार्यालयको माथाहतमा रहेर नै सशस्त्र प्रहरीको टोलीले सुरक्षा चेकजाँच गर्नेछ।

विमानस्थल भन्सार सुरक्षामा कमजोरी हुँदा पटक–पटक गरेर तस्करीका सुन बाहिर निस्कने गरेका थिए। दक्ष कर्मचारी तथा सुरक्षा चेकजाँचमा पोख्त कर्मचारी नभएका कारणले पनि भन्सारमा कमजोरी भएको ठानिएको थियो। 

‘खासगरी तस्करी नियन्त्रणका लागि सुरक्षा निकायको अर्को अंगलाई पनि परिचालन गर्ने निर्णय भएको हो’, मन्त्रालय स्रोतले भन्यो,‘अब सेटिङ तोडिने पनि विश्वास जागेको छ।’
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्