एएफसी एशिया कप : इरान अन्तिम १६ मा
काठमाडौँ - एएफसी एशिया कप फुटबलमा इन्डोनेशिया विजयी भएको छ । शुक्रबार राति भएको खेलमा इन्डोनेशियाले भियतनामलाई १-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै इन्डोनेशियाले अन्तिम १६ मा स्थान बनाउने सम्भावनालाई कायमै राखेको छ । यो समूह डीबाट इराक यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ भने दोस्रो स्थानमा जापान र तेस्रो स्थानमा इन्डोनेशिया रहेका छन् ।
शुक्रबार राति इन्डोनेशियालाई जिताउन असनावी मंगलकुलम बहारले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । फम लङले दोस्रो हाफको अतिरिक्त समयमा रातो कार्ड पाएर भियतनाम १० खेलाडीमा सीमित भए पनि त्यसको फाइदा भने इन्डोनेशियाले उठाउन सकेन । समूह चरणको अन्तिम खेलमा इन्डोनेशियाले जापानसँग तथा इराकले भियतनामसँग खेल्न छन् ।
यसैगरी समूह सीबाट इरानले अन्तिम १६ मा स्थान पक्का गरेको छ । शुक्रबार राति नै भएको खेलमा इरानले हङकङलाई १–० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको हो ।
इरानका लागि मेहदी घयादीले गारेको २४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । यो समूहमा इरान लगातार दुई खेलमा जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने युएई एकमा जित र एकमा बराबरी गर्दै ४ अंकका साथ दोस्रो स्थानमा छ । प्यालेस्टाइन तेस्रो तथा हङकङ चौथो स्थानमा छ ।