Nic Ad Nic Ad
Nic Ad Nic Ad
सहकारी पीडितबीच राजनीति र अभियान

जीबी राईबारे सोधे तर्किन्छन् रवि, सरकारले नसके प्रसाईँले २४ घन्टामा नेपाल ल्याउने

शनिबार, माघ ६, २०८०

काठमाडौं– पोखरा, बुटवल र चितवनका सहकारीको रकम अपचलन गरी ग्यालेक्सी टीभी खोलेका गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई फरार छन्। सहकारी पीडितले राईलाई पक्राउ गरी डुबेको रकम उठाउनका लागि माग गरिरहेका छन्। 

यहाँसम्मकी राईसँग जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी पीडितले आग्रह समेत गरेका छन्। रास्वपाले सहकारी पीडितको बचत सुरक्षाका निम्ति सुझावसहितको उपाय निकालेर सरकारलाई प्रतिवेदन बुझाउने लामिछानेले बताए पनि जब जीबी राईबारे प्रश्न सोधिन्छ, उनी तर्किने गरेका छन् । 

चितवनमा एक जना पत्रकारले सोधे,‘हिजो पत्रकार हुँदा पीडकलाई जसरी विदेशबाट पनि बोल्न बाध्य बनाउनुहुन्थ्यो तर जीबी राईका विषयमा किन त्यसो गर्नुहुन्न?’

रवि उत्तर दिन्छन्, ‘हामी पीडितको बचत रकमको सुरक्षाको विषयमा गम्भिर छौं। अहिले प्रतिपक्षमा रहेका कारण शक्ति हाम्रो हातमा छैन। सरकारले गर्नुपर्छ।’

त्यसो त यसअघि पनि लामिछानेले राईको खोजीनीतिका निम्ति कुनै पहल गरेका थिएनन्। बरु सहकारी विभागमा राईसहित लामिछानेलाई समेत कारबाही गर्न भनी दुई प्रकारका उजुरी परेका छन्। युवराज सफल र नेपाल विद्यार्थी संघले उजुरी दिएका थिए। 

उक्त उजुरी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, स्थानीय तहमा समेत पत्राचार भइसकेको छ। ‘सम्बन्धित जिल्ला र प्रदेशका सहकारी रजिष्ट्रारका कार्यालयमा पत्राचार भइसकेका छन्, संघमा विभागले पनि यस विषयमा हेरिरहेको छ’, सहकारी विभागका अधिकारी भन्छन्,‘यो प्रकरणको अनुसन्धानका निम्ति हामीले भनेका छौं।’

जीबी राईले गोर्खा मिडिया नेटवर्कमा सूर्यदर्शन, साहारालगायतका सहकारीका रकम अपचलन गरी लगानी गरेका थिए। जसले सञ्चालन गरेको ग्यालेक्सी टीभीका संस्थापक प्रबन्ध निर्देशक लामिछाने थिए भने उनको त्यसमा शेयर समेत रहेको थियो। 

एकातिर लामिछाने तर्किए पनि नागरिक बचाऊ अभियानका नाममा देश दौडाहामा रहेका मेडिकल व्यावसायी दुर्गा प्रसाईँले भने राज्यले अनुमति दिए जीबी राईलाई २४ घन्टाभित्र नेपालमा ल्याउने दाबी गरेका छन्। 

बुटवलका सहकारी पीडितसँगको छलफलका क्रममा उनले जीबी राई मलेसीया, सिंगापुर र दबईमा रहेको दाबी गर्दै चाहेको बेला नेपाल झिकाउन सकिने र त्यसका लागि राज्यले अनुमति दिनुपर्ने बताए। 

‘राज्यले सक्तिन भनोस्, म २४ घन्टामा नेपालमा ल्याउँछु’, प्रसाई भन्छन्,‘नेपाली जनताले नै खोजेर नेपाल पठाउँछन् हौ। तर चाहना हुन परेन? राज्यले किन पक्राउ गरिरहेको छैन? कसले बचाइराखेको छ?’

जीवी राईविरुद्ध प्रहरीले डिफ्युजन नोटिस समेत जारी गरेको छ। तर, उनी पक्राउ गरिएका छैनन्।
 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्