नेभिगेशन
साहित्य
गोविन्द वियोगी पत्रकारिता पुरस्कार

गोविन्द वियोगी पुरस्कारबाट चार पत्रकार सम्मानित

नुवाकोट– गोविन्द वियोगी पत्रकारिता पुरस्कार, २०८० बाट वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेसहित चार जना सम्मानित भएका छन् । 

सम्पादक समाज नेपालले आज यहाँ आयोजना गरेको वियोगी पत्रकारिता पुरस्कार एवं सम्मान समारोहमा ‘योहो’ टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारी, ‘त्रिशूली प्रवाह’का सम्पादक शरण उत्सुक सापकोटा र पत्रकार मन्टेश्वरी राजभण्डारी सम्मानित भएका हुन् । पुरस्कार अर्थमन्त्री डा प्रकाशशरण महतले प्रदान गरेका थिए ।

गोविन्द वियोगी पत्रकारिता पुरस्कारबाट भण्डारीलाई रु २५ हजार नगद राशिसहित सम्मान गरिएको हो । यस्तै गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कारबाट सम्मानित  सापकोटालाई रु १५ हजार नगद राशिसहित सम्मानित गरेको हो ।

राससका पूर्वअध्यक्ष वाग्ले र पत्रकार राजभण्डारीलाई पत्रकारिता क्षेत्रको प्रवद्र्धनका लागि उल्लेखनीय योगदान पुर्याएको भन्दै समाजले सम्मान गरेको हो । समाजअन्तर्गत गोविन्द वियोगी स्मृति कोषले पुरस्कार स्थापना गरेको हो ।

सम्मान समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले सम्मानितलाई शुभकामना व्यक्त गरे । उनले पत्रकारिता क्षेत्रमा वियोगीको योगदानलाई स्मरण गर्दै गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र भवनको व्यवस्थापनका लागि आगामी वर्षदेखि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जाहेर गरे ।

“वियोगीजी सम्झिरहनुपर्ने व्यक्तित्व हुनुहुन्थ्यो, कोषको विकास गतिशीलताजस्ता विषयमा अन्तक्र्रिया र छलफल होस्, यो परिसरको पूर्णरुपमा उपयोग होस्, कोष जीवन्त बनोस्”, उनले भने ।

समारोहमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारको सीप एवं क्षमता अभिवृद्धि, पारिश्रमिक वृद्धि र विज्ञापनसम्बन्धी कठिनाइको गाँठो फुकाउन सरकारको ध्यानाकर्षण गराए । 

“पत्रकारको सीप र क्षमता अभिवृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको आवश्यकता छ । पारिश्रमिक दुई÷दुई वर्षमा मूल्याङ्कन हुन सकेको छैन, यसबारे सरकारको तत्काल ध्यानाकर्षण हुन आवश्यक छ”, उनले भने ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले पत्रकारितामा एकसाथ धेरै चुनौती देखिएको गुनासो गरिन् । पत्रकारको पारिश्रमिक वृद्धिका लागि आवश्यक पहल गरिरहेको उनको भनाइ छ ।

अध्यक्ष खड्काले भनिन्, “आर्थिक सङ्कटको असर सबै क्षेत्रमा परेको छ । यसबाट श्रमजीवी पत्रकार पनि मारमा परेका छन् । रोजीरोटीका लागि जटिलता छ । प्रत्येक दुईरदुई वर्षमा वृद्धि हुनुपर्ने तर पाँच वर्ष बितिसक्यो, यसका लागि सरकारसँग विशेष अनुरोध गर्दछु ।”

सम्मान ग्रहणपछि राससका पूर्वअध्यक्ष वाग्लेले पत्रकारको आर्थिक सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउँदै पत्रकारितामा देखिएको चुनौतीलाई मिलेर सम्बोधन गर्नुपर्ने बताए । सम्मानित पत्रकारले आलोचनात्मक चेतसहितको पत्रकारिताका लागि स्वयं पत्रकारको क्षमता अभिवृद्धि र आर्थिक सुरक्षाको प्रत्याभूतिको माग गरे ।

समाजका महासचिव एवं वरिष्ठ पत्रकार श्याम डोटेलले नयाँ पुस्ताका पत्रकारलाई दक्ष बनाउन क्षमता अभिवृद्धिका तालिम  उपलब्ध गराउन सकेमात्र गुणस्तरीय पत्रकारिताको अभ्यास हुने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप साहित्य