उपेन्द्रको प्रस्तावमा सीके राउतको पार्टी सरकारबाट हटाउने तयारी, यसकारण माधव नेपालको समर्थन
काठमाडौं– मन्त्री हेरफेरको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता गठबन्धनबाट सीके राउत नेतृत्वको जनमत पार्टी हटाउन दबाब परेको छ।
समाजवादी मोर्चामा समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राउतको पार्टीलाई संघीय सरकारबाट हटाउनका लागि प्रस्ताव गरेका हुन्। उक्त प्रस्तावमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले समर्थन जनाएको बताइएको छ।
प्रधानमन्त्री प्रचण्ड असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर युगान्डाबाट फर्किसकेका छन्। समाजवादी मोर्चाको बैठक बसेर सत्ता गठबन्धनमा सीके राउतलाई हटाउने प्रस्ताव बहुमतले पारित गर्ने तयारी भएको छ।
राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनभन्दा फरक रहेर राउतको पार्टीले मधेस र लुम्बिनी प्रदेशमा उम्मेदवार खडा गरेका कारण पनि खटपट भएको थियो। यति मात्र होइन सामान्य प्रशासन मन्त्रालय लिए पनि राउतले निरन्तर सरकारको आलोचना गरिरहेका छन्।
राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा पनि राउतको पार्टीलाई गठबन्धन बैठकमा बोलाइएको थिएन। यो मुख्य कारणचाहिँ उपेन्द्र र सीकेको प्रतिस्र्धाको राजनीति पनि रहेको केलाइएको छ।
सीकेले सप्तरी–३ मा उपेन्द्रलाई पराजित गरेका थिए। तर उपनिर्वाचनमार्फत उपेन्द्र बारा–२ बाट प्रतिनिधि सभा छिरिसकेका छन्।
सीकेको पार्टी गठबन्धनबाट हटाउँदा एक मन्त्रालय खाली हुनेछ। उक्त मन्त्रालय आफ्नो पार्टीले पाउने भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि सीके हटाउने विषयको समर्थनमा उत्रिएका हुन्।
सीकेको पार्टीबाट सरकारमा अनिता साह सामान्य प्रशासन मन्त्री बनेकी छन्। सत्ता गठबन्धनमा सहभागी हुँदै जनमत सरकारको समर्थनमा आउँदा माओवादीको कोटामा रहेको उक्त मन्त्रालय प्रचण्डले सीकेको पार्टीलाई दिएका थिए।