Nic Ad Nic Ad
Nic Ad Nic Ad
सहकारी अपचलनको रकम ग्यालेक्सी टीभीमा 

जीबी–रवि प्रकरण छानबिनको जिम्मा सीआईबीलाई, मुद्दा कमजोर बनाउने ‘खेल’

आइतबार, माघ ७, २०८०

काठमाडौं– कास्की, बुटवल र चितवनको सहकारीको रकम अनधिकृत रुपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरी अपचलन गरेको विषयको मुद्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन गर्ने भएको छ।

गृह मन्त्रालयले उक्त प्रकरणलाई महत्वका साथ सीआईबीलाई छानबिनको जिम्मा दिएको उच्च स्रोतले जनाएको छ। यस प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नाम पनि मुछिएको छ। तीनै जिल्लाका सूर्यदर्शन साहारा सहकारीलगायतका रकम अनधिकृत रुपमा ग्यालेक्सी टीभीमा लगानीका लागि गोर्खा मिडियामा पठाइएका विवरण सतहमा आएका थिए। 

यस प्रकरणमा लामिछाने र सहकारीका सञ्चालकसमेत रहेका ग्यालेक्सी टीभीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईको नाम मुछिएको थियो। युवराज सफल भनिने व्यक्ति र नेवि संघका एक जना नेताले दुवैलाई कारबाहीको माग गरी सहकारी विभागमा उजुरी दिएका छन्। विभागले सम्बन्धित प्रदेश र जिल्लाका सहकारी रजिष्ट्रारको कार्यालयमा छानबिनका लागि पत्राचार गरीसकेको छ। 

यहि विषयको अनुसन्धान अब सीआईबीले पनि माथिल्लो तहबाट हेर्नेछ। सीआईबीले ठगीसम्बन्धी विषयलाई केन्द्रमा राखेको, पक्राउ पूर्जी जारी भएका फरार जीबी राईलाई खोजेर ल्याउने जस्ता जिम्मेवारी बहन गर्ने प्रहरीका उच्च अधिकारी बताउँछन्।

यो प्रकरण सीआईबीले हेर्दा मुद्दा कमजोर हुन सक्ने अनुमान कतिपयले गरेका छन्। भीआईपीलाई सीआईबीले खासै गहिरोगरी अभियोग नलाउने गरेको आरोप समेत लाग्ने गरेको छ। 
यस्तो आरोप अरु कसैले नभएर स्वयम् रास्वपा सभापति लामिछानेले नै संसदको राज्य व्यवस्था समितिमा लगाएका थिए। अब अनुसन्धान उनीतिर सोझिँदा पनि यो कमजोर हुन सक्ने अनुमान अन्यले गरेका छन्। 

‘रविजी आफैंले पनि सीआईबीले कमजोर अनुसन्धान गर्ने भन्नुभएको छ। यस प्रकरणमा पनि उहाँको भनाई अनुसारकै बुझाई हामीले राख्नुपर्छ’, माओवादी केन्द्रका एक केन्द्रीय सदस्य भन्छन्,‘सीआईबीले अनुसन्धान बलियोगरी गरोस्।’
 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्