विश्वकपमा शतक हान्नबाट चुके अर्जुन !
काठमाडौँ– नेपाल यू–१९ राष्ट्रिय क्रिकेट टोलीका ओपनर अर्जुन कुमाल न्युजिल्यान्डविरुद्ध खेलमा शतकबाट चुकेका छन् ।
आइसीसी यू–१९ विश्वकप अन्तर्गत न्युजिल्यान्डविरुद्ध जारी खेलमा तीव्र गतिका बलर एवाल्ड श्रेडरको ३७ औं ओभरको दोस्रो बलमा अर्जुन थर्डम्यानमा ९० रनमा क्याच आउट भएपछि शतक बनाउनबाट चुकेका हुन् ।
नेपालको इनिङलाई अघि बढाएका अर्जुन ९० रनमा रहँदा टप एज लाग्दै थर्ड म्यानमा क्याच आउट भए । अर्जुनले १ सय ४ बलको सामना गर्दै १२ चौका प्रहार गरे । इनिङको क्रममा उनले ७३ बलमा ६ चौकासहित अर्धशतक पूरा गरे ।
अर्जुन लगातार दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक बनाउनबाट चुकेका हुन् । गत डिसेम्बरमा यू–१९ एसिया कपका दौरान अफगानिस्तानविरुद्ध अर्जुनले ९१ रन जोडेका थिए ।
अर्जुन यू–१९ विश्वकपमा सर्वाधिक स्कोर बनाउने सुचिमा संयुक्त दोस्रो स्थानमा छन् । यसअघि प्रदीप ऐरीले सन् २०१२ मा नामिबियाविरुद्ध ९८ नटआउट बनाएका थिए ।
न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय २ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३८ रन जाेड्दै ६४ रनले पराजित भएको छ ।