विश्वकपको पहिलो खेलमा नेपाल पराजित
काठमाडौँ– आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ ।
दक्षिण अफ्रीकाको इस्ट लन्डनस्थित मैदानमा आज भएकाे खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको ३ सय २ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३८ रन जाेड्दै ६४ रनले पराजित भएको हो ।
नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९० रनको योगदान दिए । कप्तान देव खनालले ३६ रन जोड्दा सुभाष भण्डारी ३३ र तिलक भण्डारी १७ रनमा नटआउट रहे । अर्जुनले १ सय ४ बलको सामना गर्दै १२ चौका प्रहार गरे ।
नेपालका ओपनर दीपक बोहोरालाई तेस्रो बलमै गुमाएको थियो । १६ औं ओभरको अन्तिम बलमा कप्तान देव खनाल आउट भए । अर्जुन र देवबीच ५९ रनको साझेदारी बनेको अवस्थामा देव ३६ रन जोड्दै क्याच आउट भएका थिए । उनले ३४ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे ।
उत्तम मगर खाता नखोली कट बिहाइन्ड भए । गुलशन झा २ रनमै आउट भए । दिपक बोहोरा पनि २९ औं ओभरमा १५ रन जोड्दै विकेटकिपरकै हातबाट समातिए । दिपेश कँडेलले खाता खोल्न सकेनन् । सुभाषले ५२ बलमा ४ चौकासहित नटआउट ३३ रन जोडे । आकाश चन्दले २६ बलमा १४ रनको योगदान दिए । तिलकले १९ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाए । अन्तिम विकेटका लागि सुभाष र तिलकले नटआउट ३७ रन जोडेका थिए ।
न्युजिल्यान्डका मेसन क्लार्कले ३ विकेट चट्काए । एवाल्ड श्र्वेडर र ओस्कार ज्याकसनले २-२, म्याट रो र ज्याक कमिंगले १-१ विकेट चट्काए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन जोड्यो ।
न्युजिल्यान्डका रेड्डीले १ सय ४१ रनको विशाल इनिङ खेलेपछि न्युजिल्यान्डले बलियो योगफल खडा गरेको थियो । तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले नटआउट १ सय ४७ रन जोडे ।
बलियो सुरुवात गरेको न्युजिल्यान्डलाई सुभाष भण्डारी, तिलकराज भण्डारी र दीपेश कँडेलले विकेट लिँदै दबाबमा राखेका थिए । सुभाषले ११ औं ओभरको पहिलो बलमा लुक वाटसनलाई बोल्ड गर्दै सुरुवाती सफलता दिलाएका थिए । वाटसनले २५ बलमा २ चौकासहित १४ रन जोडे । अर्का ओपनर टम जोन्स तिलकबाट बोल्ड भए । जोन्सले ४५ बलम ५ चौकासहित ३३ रनको योगदान दिए । रेड्डी र ज्याक्सनले बलियो साझेदारी निर्माण गरे । ज्याक्सन ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रन जोड्दै आउट भए । एलेक्स थम्प्सन १३ रन जोड्दै सुभाषकै बलमा बोल्ड भए ।
नेपालका लागि सुभाषले ३ र गुलशनले २ विकेट लिए । दीपेश, तिलक र आकाशको नाममा १-१ विकेट रह्यो ।
नेपालले अब बुधबार हुने खेलमा पाकिस्तानसँग खेल्नेछ । यो समूहमा अफगानिस्तान पनि रहेको छ । पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनले हराएको थियो ।