Nic Ad Nic Ad
Nic Ad Nic Ad

व्यवसाय फस्टाउन बजारीकरण अपरिहार्य : मन्त्री शर्मा

सोमबार, माघ ८, २०८०

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कुनै पनि व्यवसाय फस्टाउनका लागि बजारीकरण आवश्यक रहेकामा जोड दिएकी छन् ।

रेडियो र टेलिभिजनको व्यवसाय प्रवर्द्धनमा संलग्न जनशक्तिका लागि विज्ञापन बोर्डले आज यहाँ आयोजना गरेको क्षमता विकास कार्यक्रममा उनले आजको युग बजारीकरणको भएको बताउँदै जुनसुकै व्यवसाय बजारीकरणबिना फस्टाउन नसक्ने उल्लेख गरिन् ।

मन्त्री शर्माले भनिन्, “व्यवसाय फस्टाउनका लागि बढी व्यावसायिक र सीपयुक्त बनाउन आवश्यक छ । यो कार्यक्रमले बजारीकरणमा काम गर्नेलाई थप प्रोत्साहन गर्ने विश्वास छ ।” रेडियो र टेलिभिजन तुलनात्मक बढी प्रभावकारी सञ्चारमाध्यम भएको उल्लेख गर्दै उनले यसबाट प्रसारित हुने सामग्रीको विषयका बारेमा ध्यान पुर्‍याउन आग्रह गरेकी छन् ।

“कहिलेकाहीँ विज्ञापन प्रसारण गर्दा पनि संविधान र प्रचलित कानुनको प्रावधानविपरीत हुने गरेको पाइएकाले त्यसमा पनि ध्यान पुर्‍याउनुपर्छ । बहुविवाह र छुवाछुतविरुद्ध सकारात्मक सन्देश प्रवाह हुने उद्देश्यले प्रसारण गरेका सामग्रीले पनि कसैको भावनामा चोट पुर्‍याउन हुँदैन”, मन्त्री शर्माले भनिन् ।

विज्ञापनमा हुने चुहावट नियन्त्रणका लागि विज्ञापन नियमावली संशोधन गरिएको जानकारी गराउँदै मन्त्री शर्माले अब यस क्षेत्रमा विज्ञापन एजेन्सीले १५ प्रतिशत मात्र शुल्क लिन पाउने व्यवस्था गरिएको जानकारी दिईन् । उनले आथिक मन्दीको प्रभाव विज्ञापन क्षेत्रमा पनि परेकाले विज्ञापनबापत कम रकम पाउँदा सञ्चारमाध्यमले श्रमजीवी पत्रकार र कामदारको पारिश्रमिक दिन नसकेको गुनासो सुनिएको सन्दर्भमा यसले केही हदसम्म समस्या समाधान गर्ने विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्