Nic Ad Nic Ad
Nic Ad Nic Ad
रवि लामिछाने–कान्तिपुर शितयुद्ध

रवि लामिछाने चोख्याउने कागजमा ग्लोबल आईएमई बैंकको किर्ते काम, किन हुँदैछन् अरु पनि बदनाम

सोमबार, माघ ८, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र कान्तिपुर मिडियाको शितयुद्धभित्र ग्लोबल आईएमई बैंकको किर्ते कागजले महत्व पाएको छ। 

ग्लोबल आईएमई बैंकमा रहेको लामिछानेको खातामा सहकारी पीडितको रकम लगानी भएको गोर्खा मिडियाले शेयरवापतको एक करोड ८० लाख रुपैंया जम्मा गरेको समाचार कान्तिपुरमा सार्वजनिक भएपछि त्यसो नभएको प्रमाणमा बैंकको पत्र सार्वजनिक गरियो। 

पत्रकार सम्मेलन गरेर लामिछानेले शालिन पारामा सबैभन्दा ठूलो प्रमाणका रुपमा ल्याएको बैंकको पत्र नै ‘किर्ते’ ठहर भएको छ । यसलाई लामिछानेले पनि स्वीकार गर्दै मिति गलत भएको बताए ।

GBIME_rabi-1705930577.jpg

लामिछानेको खातामा रकम जम्मा भएको हो या होइन भन्ने उक्त पत्रले आधिकारिक जानकारी दिँदैन। पत्रमा बैंकले मिति नै गलत उल्लेख गरेर पठाएको छ। २२ जनवरी २०२४ मा बैंकमा रकम जम्मा भएको हो या होइन भनेर मागिएको उत्तरमा ग्लोबल आईएमईले २२ जुन २०२४ मा मागिएको भनेर उल्लेख गरेको छ।

त्यस विवरणमा गोर्खा मिडियाले चेकमार्फत रकम जम्माका लागि दाखिला गरे पनि पर्याप्त रकम नभएका कारण फिर्ता गएको भन्ने उल्लेख छ। यसको अर्थ लामिछानेको खातामा रकम जम्मा भएन भन्ने दाबी गरिए पनि बैंकको त्यो कागज नै गलत हुँदा त्यसलाई आधिकारिकता मान्न सक्ने स्थिति छैन। 

‘बैंकले अर्को कागज वा त्यसलाई सच्याएर दियो भने मानिन्छ होइन भने त्यसलाई आधिकारिकता मान्न सकिन्न’, एक कानुनकर्मी भन्छन्,‘यो झुक्याउने खेल अथवा बैंकको किर्ते काम मात्र नभई गम्भीर गल्ती पनि भन्न सकिन्छ। बैंकले त्यसो गर्न पाउँदैन।’

दलबल मात्र होइन, नामी पूर्वबैंकर अनिलकेशरी शाहसम्मलाई राखेर आफू निर्दोष भएको साबित गर्नका लागि आयोजित पत्रकार सम्मेलनमा लामिछानेका नाममा अन्य किर्ते काम भएका पनि खुल्दै जानेछन्। यसमा लामिछाने दोषी छन् या छैनन् भन्ने यकिन गर्न नसके पनि आएका विवरणमा कैफियत भने पक्कै पाइएको छ।

यस्तो त्रुटीसहितको कागज रास्वपाका सबैले अध्ययन गरेको, बैंकमा पनि चार पटक हेर्दा जानीजानी पत्रकार सम्मेलनमा बाँड्नु मानवीय अथवा प्राविधिक त्रुटी मात्र नभई झुक्याएको हुन सक्ने आशंकालाई सुविधा दिएको छ। यसमा बैंकर समेत रहेका अनिलकेशरी शाहले कसरी त्रुटी गर्न सक्लान् भन्ने प्रश्न पनि जोडिएको छ। 

तर पत्रकार सम्मेलनमा रवि लामिछानेले जीबी राईलाई सहकारी पीडितको रकम तिरिदिनका लागि अपिल गरेका थिए।
 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्