Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री कपमा कोशीको लगातार सातौं हार

मंगलबार, माघ ९, २०८०

काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार सातौँ हार बेहोरेको छ ।

मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशसँग ७ विकेटले पराजित हुँदै कोशीले आफ्नो खराब प्रदर्शन कायम गरेको हो ।

कोशीले जितको लागि दिएको १ सय ५२ रनको लक्ष्य कर्णालीले ३० औं ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीको जितमा विकेटकिपर अर्जुन घर्तीले अर्धशतक बनाए । उनी ४८ बलमा ६ चौका र २ छक्कासहित ५० रन बनाउदै नटआउट रहे ।

यस्तै, हिमांशु २४ रन बनाउँदै नटआउट रहँदा विपिन शाही २८, निश्चल २१, रविन्द्र शाहीले १२ र प्रकाश जैशीले ६ रन बनाए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ३४.३ ओभरमा अलआउट हुँदै एक सय ५१ रन बनाएको थियो ।

कोशी प्रदेशका लागि सुजन थपलियाले अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ७३ बलमा चार छक्का र आठ चौका प्रहार गर्दै ७३ रनको योगदान दिए । आशिष भट्टराईले ११ तथा सौजन घिमिरेले १२ रन बनाउदा कोशीका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् ।

कर्णालीको लागि दिनेश अधिकारीले चार विकेट लिए । आठ ओभर बलिङ गरेका उनले एक मेडनसहित १८ रन खर्चिए । प्रकाश जैसीले तीन विकेट लिदा दिवान पुनले दुई विकेट हात पारे ।

जारी प्रतियोगितामा कर्णाली ६ खेलमा ३ जित र ३ हारसँगै पाँचौ स्थानमा छ भने अंकविहिन कोशी पुछारमा छ ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्