आहा रारा गोल्डकप : आयोजक टोलीलाई हराउँदै थ्रीस्टार क्वाटरफाइनलमा
पोखरा– ललिपुरको थ्रीस्टार क्लवले पोखरामा सुरु भएको आहा रारा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ ।
मंगलबार पोखरा रंगशालामा भएको खेलमा थ्रीस्टार क्लवले आयोजकको टोली साहारा क्लवलाई २–१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
थ्रीस्टारका लागि योगेश गुरुङ र एन्जल महर्जनले एक एक गोल गर्दा साहाराका लागि आशिष गुरुङले एक गोल फर्काएका थिए । थ्रीस्टार क्लवले खेलको पाँचौं मिनेटमा गोल गर्दै खेलमा घरेलु टोलीविरुद्ध अग्रता बनाएको थियो । खेलको २३ औं मिनेटमा घरेलु टोलीले गोल गर्दै खेल बराबरीको स्थितिमा पुर्याएको थियो ।
साहाराका लागि लक्ष्मण रुचालले मैदानको दाँया भागबाट प्रहार गरेको फ्रिकिकमा आशिष गुरुङले हेड मार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । खेलको ५९ औं मिनेटमा एन्जल महर्जनले गोल गर्दै जीत दिलाएका थिए । प्रतियोगिता अन्तर्गत बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच खेल हुनेछ हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार प्राप्त गर्नेछ ।