Nic Ad Nic Ad
Nic Ad Nic Ad
राष्ट्रिय सभा निर्वाचन

सिटौलालाई थन्क्याउन कांग्रेसको हाइप्रोफाइल जत्था बिराटनगरमा

बुधबार, माघ १०, २०८०

बिराटनगर– ‘जसरी पनि नेता कृष्ण सिटौलालाई गठबन्धनका तर्फबाट भारी मतभारले जिताउनुपर्छ’, डा. शेखर कोइरालाको निवासमा बुधबार बिहान चियाको चुस्कीसँगै कांग्रेसका अन्य नेता भनिररहेका थिए । राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा अहिले बिराटनगरमा हाइप्रोफाइल नेताको जत्था नै सक्रिय छ। 

बिहीबार राष्ट्रिय सभाको १९ सिटका लागि हुने निर्वाचनमा कोशी प्रदेशबाट कांग्रेसका सिटौला हेवीवेट उम्मेदवार मानिन्छन् । प्रतिनिधि सभामा झापा–३ बाट पराजित भएका सिटौलालाई जिताउने मात्र होइन, राष्ट्रिय सभाको अध्यक्ष नै बनाउने चर्चा बिराटनगरमा छ । 

‘उहाँलाई उचित सम्मानका साथ जिताएर राष्ट्रिय सभाको नेतृत्वका लागि पठाउने हो’, कोइराला निवासमा स्थानीय कांग्रेस नेताले भने,‘सिटौला त कांग्रेसका खम्बा, गिरीजाप्रसाद कोइरालाले पत्याएको शान्तिदूत पो हो त ।’

चारतिर फर्किएका कांग्रेसका प्रायः नेता बिराटनगरमा छन्। डा. शेखर कोइराला, महामन्त्री गगन थापा, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेता भेला भएका हुन् । तर कतिपय कांग्रेसका झापाका प्रतिनिधि भने सिटौलालाई जिताउने कुरामा विकल्प नभए पनि त्यो भावी राजनीतिका लागि थन्क्याएको पनि मान्छन् ।

एक जनाले भने,‘राष्ट्रिय सभामा अध्यक्षको पद दिएर आगामी महाधिवेशनमा दाबेदारीबाट अलग बनाउने खेल र राजनीति पनि लुकेको छ, यहाँ ।’

गत महाधिवेशनमा प्रतिस्पर्धी र आलोचक रहेका महामन्त्री थापा नै सक्रियताका साथ लागेका छन्। ‘आगामी बाटो क्लियर गराउनका लागि यो खेल भएको हो’, स्थानीय नेता भन्छन्,‘पहिला हराएर चेत खुवाइयो, अब जिताएर थन्क्याउने कुरा छ ।’

राष्ट्रिय सभाका लागि कोशीमा दुई उम्मेदवार छन् । कांग्रेससहितको सत्ता गठबन्धन एकातिर छ भने अर्कातिर प्रतिपक्षी नेकपा एमाले र राप्रपाको पनि सहकार्य भएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्