भारतको ‘छमेकी पहिले नीति’बाट नेपालले फाइदा लिन सकेन : पूर्वराजदूत उपाध्याय
काठमाडौँ– भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालले भारतको ‘छिमेकी पहिले नीति’ बाट फाइदा लिन नसकेको बताएका छन् ।
भारतको ७५औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिपोटर्स क्लबले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यायले भारतले आर्थिक बिकासमा फड्को मारेपनि नेपालले त्यसको फाइदा लिन नसकेको बताएका हुन् ।
नेपालमा अहिले आर्यघाटमा जाने बेलासम्म सत्तामा बस्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई फाल्नुपर्नेमा उनले जोड दिए । उनले सरकारको तर्फबाट भ्रष्टाचारविरुद्धमा राम्रो काम भएको भन्दै गहिराईमा गएर अन्वेषण गर्नुपर्ने धारणा राखे । उपाध्यायले नेपालमा समस्या भएको उल्लेख गर्दै अब समस्या कसरी समाधान गर्ने भन्नेतर्फ सोच्नुपर्ने बेला आएको बताए ।
त्यस्तै, एमाले नेता डा.राजन भट्टराईले आधुनिक नेपालको राजनीतिक आन्दोलनको जग भारतको स्वतन्त्रतासँग जोडिएको बताए । नेपालका दुई छिमेकी मुलुकहरु अहिले तीब्रतर समृद्धिको बाटोमा रहेका बताउँदै उनले दुई छिमेकी मुलुकहरुबाट नेपालले पनि सिक्न आवश्यक रहेको बताए । नेता भट्टराईले नेपालले छिमेकी देशको तुलनामा विकास र समृद्धिमा किन पछि पर्यो भनेर सोच्न जरुरी रहेको बताए ।
त्यस्तै उनले देशका समृद्धि र विकासका लागि संविधान र व्यवस्था, वातावरण, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति बाधक नरहँदा पनि मुलुकले गति लिन नसकेको जिकिर गरे । नेता भट्टराईले वर्तमान सरकार अल्मलिरहेको टिप्पणी पनि गरे ।