नेपालमा युनिक उत्पादन गरेर संसारभरि मार्केटिङ गराैं : अर्थमन्त्री महत
काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र वस्तुको यथेष्ट मार्केटिङ गर्न नसकिएको बताएका छन ।
नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले सबै मिलेर नेपाली उत्पादनको मार्केटिङ गर्न जरुरी रहेको बताएका हुन ।
‘युनिकनेस अहिले संसारभरि चलेको ट्रेन्ड हो । युनिकनेसबाट धेरै देश हामीभन्दा धेरै अगाडि छन् । नेपालमा युनिक उत्पादन गरेर संसारभरि मार्केटिङ गर्न सकिन्छ । उपभोक्ताले जहिले पनि अरुभन्दा फरक रुचाउँछन् । नेपालको एडभान्टेज भनेको युनिकनेस हो’ मन्त्री महतले भने, ‘हाम्रो संस्कार, संस्कृति, जनजाति, वन्यजन्तु र एकता नेपालको विशिष्ट पहिचान हो ।’
मन्त्री महतले अगाडी भने, ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ यसलाई मार्केटिङ भनिन्छ । उपभोक्ताको मनमा यो त मैले प्रयोग गर्नैपर्छ, उपयोग गर्नैपर्छ, खानैपर्छ, लाउनैपर्छ, जानैपर्छ, हेर्नैपर्छ र सुन्नै पर्छ, भन्ने छाप जसले छोड्न सक्छ, उसको बिक्छ । विज्ञापनले मात्र पुग्दैन, यसलाई दीगो बनाउनका लागि गुणहरु हुनैपर्छ । गुण भएन भने दीगो हुँदैन ।’
‘देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ । हामीले धेरै राजनीतिक अरोह अवरोह पार गरिसक्यौं । अब अगाडि बढ्ने स्पष्ट मार्गचित्र छ । हामीले राजनीतिक पूर्वाधार तयार पारिसक्यौं, अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ । यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं’ मन्त्री महतले भने, ‘हाम्रो आर्थिक सूचांक सकारात्मक छन् । मूल्यवृद्धि नियन्त्रणमा छ, ब्याजदर घटिरहेको छ । शेयर बजारमा सुधार भइरहेको छ । र, आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको छ ।’