Nic Ad Nic Ad
Nic Ad Nic Ad

नारायणगढ–मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा

आइतबार, माघ १४, २०८०

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ ।

विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो ।

सवारीसाधन दैनिक चार घण्टा रोकेर गत पुस ७ गतेदेखि काम भएको छ । मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आइएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इ कृष्ण आचार्यका अनुसार ६० मिटर अग्लो भित्तोको एकातर्फको भाग ११ मिटर र अर्कोतर्फ १४ मिटर तल झरेको छ । उनका अनुसार मुग्लिनतर्फ १४ मिटर बाँकी छ भने खोलातर्फ ११ मिटर बाँकी छ । उनले भने, “भित्तो काट्ने काम झन्डै ८० प्रतिशत सम्पन्न भयो ।”

पहिलो पटक तीन साता सवारीसाधन रोकेर भित्तो काटिएको थियो । काम नसकिएपछि दोस्रो पटक थप गरिएको तीन साता यही माघ २० गते सकिँदैछ । दोस्रो पटक म्याद थपेपछि चार दिन काम गर्न नपाएको भन्दै उनले थोरै दिनमात्रै थप गर्नुपर्ने हुनसक्ने बताए । उनको भनाइमा माघभित्रमा भित्तो काट्ने सबै काम सकिन्छ ।

पहाडको भाग अरु तल झरेपछि जाली लगाएर भित्तो काट्दा सवारीसाधन रोक्नु पर्दैन । आक्कलझुक्कल थोरै समय रोकेर काम गर्नुपर्ने अवस्था आए पनि यसरी सवारीसाधन रोक्न नपर्ने उनले बताए। काम प्रभावकारी हुँदै गएको भन्दै उनले विस्फोट गर्नुपर्ने अवस्था टरेको बताए।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्