नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार पत्रकार प्रधानलाई
विराटनगर– नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार–२०८० वरिष्ठ पत्रकार प्रतिक प्रधानलाई प्रदान गरिएको छ ।
आइतवार विराटनगरमा एक कार्यक्रमको बीच नोना कोइराला स्मृति प्रतिष्ठानले स्थापना गरेको सो पुरस्कार प्रतिष्ठानका संरक्षक एवं कांग्रेसका नेता डा. शेखर कोइरालाले नगद २५ हजार र सम्मान पत्र सहित प्रदान गरेका हुन् ।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले मुलुकमा दण्डहिनता अत्यधिक बढेको र भ्रष्टाचार चरम सिमामा पुगेकाले मुलुक अत्यन्त जटिल अवस्थामा गुज्रेको बताए । उनले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र बोल्बन पाउने अधिकार मात्र नभएको स्पष्ट पार्दै जनताको जीवनस्तर सुधार गर्न नसकिए प्रजातन्त्रको कुनै अर्थ नहुने धारणा राखे ।
त्यस्तै पुरस्कृत वरिष्ठ पत्रकार प्रतिक प्रधानले पत्रकारहरुले पुरस्कार पाउनका लागि भन्दा पनि जनतालाई सुसूचित गर्न लागिपर्नुपर्ने धारणा राखे उनले पार्टी पत्रकारीता नभई पत्रकार स्वतन्त्र हुनुपर्ने बताए ।