नियुक्तिपत्र बुझेकै दिनमा नियुक्ति रद्द
काठमाडौं- नेपाल विद्युत प्राधिकरणले लोक सेवा आयोगमार्फत सञ्चालन गरेको पदपूर्ति परीक्षामा कानुनी प्रश्न उठेपछि नियुक्ति लिइसकेकाहरुको नियुक्तिपत्र नै रद्द गरेको छ ।
प्राविधिक सेवा, इलेक्ट्रिकल समूहरउपसमूह, तह ५, सुपरभाइजर पदका करिब ३७ जना परीक्षार्थीले १४ माघमा लिएको नियुक्ति पत्र रद्द गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरणले विभिन्न आरक्षित समावेशी कोटामा पदपूर्ति हुन नसक्दा खुलातर्फबाट परीक्षामा सहभागी भएर वैकल्पिक उम्मेदवारलाई मौका दिएको थिएन ।
त्यसविरुद्ध जितेन्द्र सिंहसहितका उम्मेदवारले नेपाल विद्युत् प्राधिकरण प्रधान कार्यालय काठमाडौंविरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण मुद्दा दायर गरेका थिए । गत मंसिर २१, २७, २८ र २९ गते प्राधिकरणले प्रकाशित गरेको विभिन्न पदको नतिजा तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले ८ माघमा अन्तरिम आदेश दिएको थियो ।