Nic Ad Nic Ad
Nic Ad Nic Ad
जग्गा घोटाला प्रकरणमा निजी क्षेत्र

‘चौधरीलाई पक्राउ गरेर सरकारले निजीक्षेत्रको मानमर्दन गर्‍यो’ 

बिहीबार, माघ १८, २०८०

काठमाडौँ– बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा व्यवसायी अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेपछि निजी क्षेत्रले विरोध जनाएको छ ।  

नेपाल उद्योग परिसंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चौधरीको पक्राउप्रति विरोध जनाएको हो । 

उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले व्यवसायीमाथि घरमै पुगेर धरपकड शैलीमा पक्राउ गरिनु सम्पूर्ण निजीक्षेत्रको मान मर्दन भएको बताए । उनले व्यवसायीलाई पक्राउ गरेर स्वदेशी लगानीकर्तासमेत त्रसित भएको र विदेशी लगानीको सम्भावनामा पनि ठेस पुगेको बताए । कसैलाई पनि अनुमानका आधारमा पक्राउ गर्न नहुने भन्दै उनले पक्राउ अघि आफ्ना कुरा राख्ने मौका दिनुपर्ने धारणा राखे । अनुसन्धानमा दोषी ठहरिए कानूनी कारवाहीमा निजी क्षेत्रले बाधा नगर्ने उनको भनाइ छ ।

त्यस्तै, अन्य व्यवसायीहरुले कुनै समस्या भए छलफलबाट अघि बढ्नुपर्ने र धरपकड भने गर्न नहुनेमा जोड दिएका थिए ।

यसैबीच, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक आर्थिक समस्यासंग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भैरहेको धरपकड एवं पक्राउबारे गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

प्रेस विज्ञप्ति जारी गर्दै उनले पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको समेत उल्लेख गरेका छन् । महासंघले यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गरेको छ । 

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा आजै पक्राउ परेका व्यापारी चौधरी र तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्