कार्बन उत्सर्जनको असरबारे अध्ययन आवश्यक छ : अध्यक्ष ओली
काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानव स्वास्थ्यमा प्रतिकुल असर पुर्याउने कुरामा सबैले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताएका छन् ।
पार्टीको केन्द्रीय वन तथा वातावरण विभागले आज ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा ‘जलवायु परिवर्तनले वातावरणमा पारेको असर र समाधानका उपायका’ बारेमा अन्तरक्रिया कार्यक्रममा उनले मानवीय स्वार्थ र असावधानीले स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर पार्ने काम भइरहेको बताए ।
अध्यक्ष ओलीले जलवायु परिवर्तनको स्वाभाविक कारणलाई रोक्न नसकिने हुँदा त्यस्ता प्राकृतिक अवस्थामा मानिसले अनुकूलित हुन सिक्नु अनिवार्य रहेको बताए । उनले कार्वन उत्सर्जनका कारण मानव स्वास्थ्यमा पारेको असरलाई न्यूनीकरण गरी समस्या समाधानका बारेमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले काठमाडौँ उपत्यकामा इँटा उद्योगबाट भइरहेको कार्वन उत्सर्जनले मानव स्वास्थ्यमा पारेको असरका बारेमा अध्ययन गर्न जरुरी रहेको भन्दै उपत्यकामा कार्वन उत्सर्जन नहुने प्रविधिका उद्योग स्थापनामा सरकारले प्रोत्साहन र प्रवद्र्धन गर्नुपर्ने बताए । “कार्वन उत्सर्जन बढ्दै गएको छ । यसको समाधान कसरी गर्न सकिन्छ भन्नेतर्फ सबैको ध्यान जान जरुरी छ”, उनले भने ।
अध्यक्ष ओलीले जलवायु परिवर्तनका कारण सिर्जना भइरहेका स्वास्थ्य समस्यालाई लिएर मानिस चिन्तित भइरहेका भन्दै नेपालमा वनको क्षेत्रफल अनुसार जङ्गल नरहेकाले सघन वन क्षेत्र बढाउनुपर्नेमा जोड दिए ।
विभाग प्रमुख भारती पाठकले पृथ्वीले धान्न नसक्ने गरी कार्वन उत्सर्जन भइरहेको भन्दै त्यसको रोकथाम र समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताए ।