सरकारले हुलाक सेवाको संरचना परिवर्तन गर्ने
काठमाडौँ– सरकारले हुलाक सेवाको संगठन संरचना परिवर्तन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक पालिका एक हुलाक कायम गर्नेगरी हुलाकको संगठन संरचना परिवर्तन गर्ने निर्णय गरेको हो ।
संरचना परिवर्तन गर्ने निर्णय अनुसार केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने निर्णय भएको छ भने १६ सय ३६ दरवन्दी खारेज गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
प्रवक्ता शर्माका अनुसार बैठकले विद्युतीय सुशासन आयोगसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत गरेको छ ।
त्यस्तै, गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण पहिलो संशोधन निर्देशिका, २०८० स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।
त्यस्तै, बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार विकास समिति गठन आदेश बमोजिमको समितिको अध्यक्ष पदमा डा. पर्शुराम मिश्रलाई नियुक्त गर्ने निर्णय प्रवक्ता शर्माले जानकारी दिइन् ।