‘अग्र अनुहार’ विमोचनमा विवाद, फोनिज पदाधिकारीले पुस्तक च्याते
काठमाडौँ– नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति काठमाडौँले प्रकाशन गरेको ‘अग्र अनुहार’ पुस्तक विमोचनका क्रममा विवाद भएको छ ।
आइतबार काठमाडौँमा गलत इतिहास कायम गरेर पुस्तक लोकार्पण गर्न खोजेको भन्दै नेपाल आदिवासी पत्रकार संघ (फोनिज)ले पुस्तक बिमोचनमा अवरोध गरेको हो ।
पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेपनि इतिहासलाई नामेट पार्न खोजिएकाले विरोध गरिएको फोनिजले जनाएको छ । पुस्तक बिमोचन गर्न खोज्दा फोनिजका पदाधिकारीले नारावाजी गर्दै पुस्तक च्यातेको थियो । फोनिजका अध्यक्ष गजुरधन राईले महासंघको इतिहासलाई वेवास्ता नगर्न पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरिएकाले शान्तिपूर्ण तवरले विरोध जनाएको बताए । पत्रकार महासंघको गौरवमय इतिहासलाई कसैले भूल्न नहुने र महासंघलाई सवैको साझा बनाउनुपर्ने उनले बताए ।
त्यस्तै, फोनिजका महासचिव मिलन लिम्बुले गलत इतिहास लेखेर लोकार्पण गर्न लागेकाले आफुहरुले त्यसलाई रोकेको जानकारी दिए । उनले कुनै जाति, आस्था र लिंगका आधारमा इतिहास नामेट नपार्न चेतावनी दिए । पत्रकार महासंघले कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । तर, त्यसअघि २००८ सालमै सत्यनारायण बहादुर श्रेष्ठ अध्यक्ष भएको पुष्टि भइसक्दा पनि भट्टराईलाई नै संस्थापक अध्यक्ष मानिएको भन्दै फोनिजले विरोध जनाएको हो ।