नेपालमा अझै २० प्रतिशत बढी जनसङ्ख्या गरिबीको रेखामुनि
काठमाडौँ– नेपालमा २० प्रतिशतभन्दा बढी जनसङ्ख्या अझै पनि गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार काठमाडौँमा नेपाल जीवनस्तर सर्वेक्षण चौथो ९२०७९/०८०० नेपालमा अझै पनि २०.२७ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले करिब १२ वर्षपछि प्रतिघर परिवारले उपभोग्य वस्तुमा गर्ने खर्चको आधारमा सो तथ्याङ्क सार्वजनिक गरिएको बताए । उनकाअनुसार मानिसहरूको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, साधनमाथिको पहुँच, मनोरञ्जनबाट वञ्चित हुनेहरू अझै पनि २० प्रतिशतभन्दा बढी पाइएको छ ।
प्रदेशगत रूपमा भने सबैभन्दा कम गरिबी गण्डकी प्रदेश रहेको छ भने सबैभन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा रहेको पनि कार्यालयका प्रवक्ता रेग्मीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा अहिले पनि करिब ३४ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि रहेका छन् ।
‘‘नेपालमा तय गरिएको गरिबीको नयाँ रेखा भनेको २०.२७ प्रतिशत हो । आजको मेरो प्रस्तुतिको सारांश यही हो । आज पनि नेपालमा करिब २० प्रतिशतभन्दा बढी मानिसहरू न्यूनतम मापदण्डअनुसार खान नपाउने, लगाउन नपाउने, मनोरञ्जनका क्रियाकलाप गर्न नपाउने अथवा शिक्षा, स्वास्थ्य र साधनमाथिको पहुँच नपुगेको मान्छेहरूको प्रतिशत अहिले पनि करिब २० प्रतिशत छ भनेर यो पछिल्लो सर्वेक्षणले देखाएको छ ।,’’
कार्यालयका प्रवक्ता रेग्मीले भने, ‘‘प्रदेशगत रूपमा फेरि गरिबीको रेखा त्यहाँ भित्र पनि विभेद छ भन्ने देखिन्छ । सबैभन्दा कम गरिबी गण्डकी प्रदेशमा देखिएको छ । बागमती सँगसँगै छ । त्यसपछि कोशी प्रदेशमा छ । सबैभन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा देखिएको छ । यो सात वटा प्रदेशको हामीले तुलना गर्यौँ भने लुम्बिनी र कर्णाली पनि पछाडि पछाडि छन् । मधेश र लुम्बिनीको उस्तैउस्तै छ । कर्णालीमा सुधार भएको देखिएको छ पछिल्लो प्रतिवेदनअनुसार । सुदूरपश्चिममा अहिले पनि करिब ३४ प्रतिशत गरिबी छ ।’’
सर्वेक्षणमा कणाली प्रदेशमा भने गरिबीको सङ्ख्यामा सुधार हुँदै गएको देखाइएको पनि राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।