नेदरल्याण्ड्समाथि नेपालको शानदार जित
काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसलाई ९ विकेटले पराजित गरेको छ ।
शनिबार नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भयो ।
नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे । भुर्तेलले ४ तथा ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहितकुमार पौडेलको नाममा समान १ विकेट रह्यो । नेदरल्याण्ड्सका २ जना रन आउट भए ।
ओपनर बलर सोमपाल कामीले तेस्रो बलमा नै विकेट लिन सफल भए । नेदरल्याण्ड्सले खाता नै नखोली माइकल लेभिटलाई गुमायो । अर्का ओपनर म्याक्स ओडाउड व्यक्तिगत १० रनमा रनआउट भए ।
स्याब्रान्ड एंगेलब्रेक्ट पनि व्यक्तिगत २३ रनमै ललित राजवंशीको बलमा अनिल साहबाट क्याच आउट भए । एंगेलब्रेक्टले तेस्रो विकेटका लागि बास डि लिडेसँग ३८ रनको साझेदारी गरेका थिए । लिडे २७ रन बनाउँदै ललितकै बलमा बोल्ड भए ।
त्यसपछि मैदान आएका कप्तान स्कट एडवाड्र्सले ३३ रन बनाए । उनी कुशल भुर्तेलको एलबीडब्लू धरापमा परे । नवौं विकेटका रुपमा उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर बोर्डमा १२७ रन थियो । थप १० रन जोड्दा भिभियन किंग्माको विकेट लिँदै भुर्तेलले नेदरल्याण्ड्सलाई अल आउट गरे ।
यसअघि लिग–२ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।