सम्पत्ति छानबिनको प्रस्ताव पारित गर्नुपर्छ : उपसभापति गुरुङ
काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको महाधिवेशनबाट गरेको सङ्कल्पअनुसार महासमिति बैठकलाई ‘नीति अधिवेशन’का रुपमा गर्न लागिएको बताएका छन् ।
उनले बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिसम्बन्धी प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्तावको बारेमा प्रस्ताव पेश गर्ने जानकारी दिए ।
आजदेखि ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकबारे जानकारी दिँदै उपसभापति गुरुङले उपसभापति खड्का तथा महामन्त्रीद्वय थापा र शर्माले राखेको प्रस्तावलाई चार समूहमा छलफल गरिने बताए । उनले महासमिति बैठकले अगाडि बढाएको प्रस्तावले नेपाली कांग्रेसलाई अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका उपसभापति गुरुङले पार्टीको हरेक तहको कार्यसमितिलाई नीति र विधिमा बाँध्न महासमिति बैठकबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रजातान्त्रिक समाजवादको बहस गर्दैगर्दा उठ्न नसकेको तप्कालाई उठाउने विधिका बारेमा पनि महासमिति बैठकमा छलफल भई मार्गनिर्देश हुने उपसभापति गुरुङको भनाइ थियो ।
सुशासन र आर्थिक पारदर्शिता कायम गर्नका लागि वडाध्यक्षदेखि मन्त्री पदमा रहेकासम्मको सम्पत्ति छानबिन गर्ने प्रस्ताव महासमिति बैठकले पारित गर्नुपर्नेमा उनले जोड दिए ।