Nic Ad Nic Ad
Nic Ad Nic Ad

अधिकृत साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

आइतबार, फागुन १३, २०८०
samridhi jewllers

काठमाडौँ- सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालत, काठमाडौँले दोषी ठहर गर्दै कैद तथा जरिवाना तोकेको हो।

प्रतिष्ठानको हाताभित्र व्यवसाय गरिरहेका व्यवसायीहरूसँग आफ्नो अधिकार नै नभएको अवस्थामा पनि बिजुलीको महसुल संकलन गरी हिनामिना गरेको अभियोगमा तेजनारायण साहलाई दोषी ठहर गरिएका अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले साहलाई चार वर्ष कैद गरेको प्रवक्ता कार्कीले बताए। इलेक्ट्रिक इन्जिनियरिङ शाखामा कार्यरत अधिकृत साहले प्रतिष्ठानको हातामा सञ्चालनमा रहेका व्यवसायीहरूबाट विद्युत् महसुलबापतको ३३ लाख २० हजार २ सय २६ रुपैयाँ उठाएर आफ्नो खातामा हालेका थिए।

विपी प्रतिष्ठानकै खातामा जम्मा गर्नुपर्ने रकमलाई साहले हिनामिना गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ २५ गते विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो। उनलाई बिगो बराबर जरिवानासमेत भएको प्रवक्ता कार्कीले बताए।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्